हत्या आरोपमा दुई जना पक्राउ, हत्याको कारण लागु औषध दुव्र्यसनी र शारीरिक सम्बन्ध

भक्तपुर, फागुन २६
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका वडा नं. ९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी बर्ष २८ की जेनिशा नगरकोटीको घाँटी रेटी हत्या गरेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरी बिहिवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका वडा नं. २ भकुण्डेवेशी स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० थलाछें बस्ने ४४ वर्षिय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ महेश्वरी बस्ने ३८ वर्षिय नवराज रिजाल छन ।
मृतक जेनिशाको शव चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीको तरकारी बारीमा रहेको टिनको टहरामा परालले छोपी राखेको अवस्थामा सोमवार फेला परेको थियो । हत्याको कारण लागु औषध दुव्र्यसनी र शारीरिक सम्बन्ध भएको प्रहरीले बताए ।
प्रहरीका अनुसार जेनिशा र कुमार एउटै घरमा डेरा गरी बस्ने छिमेकी हुन । जेनिशा केही महिनादेखी श्रीमानसँग टाढिएर बस्दै आएको र कुमारसँग नजिकीएको अनुसन्धानका क्रममा खुल्न आएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो । श्रीमानसँग टाढिएका जेनिशा र कुमारको सम्बन्ध बढ्दै गएर शारीरिक सम्बन्ध समेत हुँदैं आएको थियो ।
कुमार र नवराज साथी भएका कारण कुमारको कोठामा आउँदा जाँदा जेनिशासँग चिनजान भएको र सोही क्रममा जेनिशा र नवराजबीच पनि सम्बन्ध बढ्दै गएको अनुसन्धानमा खुलेको प्रनाउ पाण्डेले बताउनुभयो ।
लागु औषधका दुव्र्यसनी समेत रहेका जेनिशा, कुमार र नवराजबीच गत फागुन २१ गते राती शारीरिक सम्बन्धको विषयमा विवाद हुँदा जेनिशाको घाँटी रेटी छातीमा समेत चक्कुले रोपेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताउनुभयो ।
हत्या आरोपमा पक्राउ परेका कुमार यसअघि पनि लागु औषध ब्राउन सुगरलगायतको ओसारपसार र चोरी मुद्दामा करिव १० वर्ष जेल बसेर छुटेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताउनुभयो ।
दुवै आरोपीलाई कर्तव्य ज्यान मुद्दामा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।