क्षयरोगको एनटिसी परियोजनाबारे अभिमुखिकरण

भक्तपुर फागुण २५
नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको एनटिसी परियोजनाबारे बुधवार अभिमुखीकरण गरेको छ । ‘क्षयरोगीलाई उपचार र अधिकारको सुनिश्चितता, क्षयरोग नियन्त्रण आजको आवश्यकता’ भन्ने नाराका साथ परियोजनाबारे अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव मुक्ति खनालले क्षयरोगलाई रोकथाम गर्ने भन्दा पनि उन्मुलन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । यसका लागि सरकार तयार रहेको जानकारी दिँदैं उहाँले क्षयरोग उन्मुलनका लागि सरकारले टि वि ३ कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले क्षयरोग उन्मुलनका लागि विशेष गरेर स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदैं संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले क्षयरोग उन्मुलनको लागि बजेट छुट्याएर काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरमा क्षयरोग निवारणका लागि विगतमा गरेका कामहरुको चर्चा गर्दै तत्कालिन परिस्थितीमा झेल्नु परेका समस्या र कठिनाईका बावजुद सफलता पाउँदा खुसी लागेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले रोग उन्मूलनका लागि समुदायस्तरमा क्षयरोगी भएको ब्यक्ति पहिचान गरी उपचारको दायरामा ल्याउन सके चाँडै लक्ष्य प्राप्ती हुने बताउनुभयो ।
संस्थाका उपसभापति सुरेश प्रधानले एमटिसी परियोजनाका अन्तर्गत गतबर्ष देखी संस्थाले गर्दै आएका कार्यक्रमहरु र आगामी कार्यक्रमहरुको बारेमा प्रस्तुतीकरण मार्फत सम्पूर्ण जानकारी दिनुभयो ।