भक्तपुरमा वर्ड फ्लु भेटियो

भक्तपुर, फागुन २२
भक्तपुरमा वर्ड फ्लु भेटिएको छ । सूर्यविनायक नगरपालिका वडा नं. १० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । वर्ड फ्लु भेटिएका कुखुरा फार्महरुमा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवांको अजिमा पोल्ट्री फार्म रहेका छन ।
ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले वर्ड फ्लु भेटिएको पुष्टि गरेको हो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुराहरुमा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको हो ।
जिल्लामा वर्ड फ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले वर्ड फ्लु भेटिएका फार्मका पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ । समितिले सूर्यविनायक नगरपालिकाको वडा नं. १० स्थित पुर्वमा अजिमा ईंटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी टंकी जाने बाटोको चार किला भित्रको पन्छी तथा पन्छीजन्य वस्तुहरु दाना, सुली, अण्डालगायतका वस्तुहरु नष्ट गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी समितिले भक्तपुर लगायत काठमाण्डौं उपत्यका भित्रिने नाकाहरुमा साथै स्थानीय स्तरमा पनि पशु सेवा विज्ञ केन्द्र ललितपुर, पशु सेवा विभाग, स्थानीय तहहरुको सहकार्य र समन्वयमा पन्छी, पन्छीजन्य वस्तुहर ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको सहायक प्रजिअ शर्माले बताउनुभयो ।