कम्युनिष्टहरु भ्रमको खेती गर्ने समूह हुन – बानियाँ

भक्तपुर, फागुन २२
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरुलाई भ्रमको खेती गर्ने समूह भएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको वडा समितिले ताथलीको गोठालेचौरमा शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश सभापति बानियाँले कम्युनिष्टहरुले राष्ट्रवादको नाममा विदेशीको सेवा गरेर नेपालमा भ्रमको खेती गर्ने गरेको बताउनुभएको हो ।
बानियाँले कम्युनिष्टहरु राष्ट्रवादी हुनै नसक्ने ठोकुवा समेत गर्नुभयो । “कम्युनिष्टहरु कुनै राष्ट्रवादी हुँदैनन, उनीहरु अन्तर्राष्ट्रियवादी पार्टी हुन्, यिनीहरु विदेशीकै पार्टी हुन् । विदेशीले बनाएको झण्डा र सिद्धान्त बोकेर हिँड्ने कसरी राष्ट्रवादी हुन सक्छ । राष्ट्रवादको नाममा उनीहरुले भ्रमको खेती गरिरहेका छन,” बानियाँले भन्नुभयो ।
उहाँले माटो सुहाउँदो नीति बोकेर हिँडेको, नेपाली नेताले प्रतिवादन गरेको सिद्धान्त बोकेको नेपाली कांग्रेस मात्र असली र एक मात्र राष्ट्रवादी पार्टी भएको दावी समेत गर्नुभयो । “आफ्नै माटो सुहाउँदो नीति बनाएर अघि बढेको पार्टी राष्ट्रघाती हुने, अनि विदेशी नेताको टाउको राखेर, फोटो राखेर हिँड्ने कम्युनिष्टहरु राष्ट्रवादी कसरी हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।
बानियाँले नेपाल मजदुर किसान पार्टीलाई हुटिट्याउँको संज्ञा समेत दिनुभयो । “भक्तपुरको एउटा क्षेत्र जितेर समग्र केही हुने हैन, हुटिट्याउँले धर्ती थाम्न सक्तैन,” उहाँले भन्नुभयो । उहाँले नेमकिपाका कार्यकर्ताहरुलाई कांग्रेसमा प्रवेश गर्न आह्वान समेत गर्नुभयो ।
सो अवसरमा बानियाँले नेमकिपासहित विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका दुई दर्जन युवाहरुलाई कांग्रेसमा स्वागत गर्नुभयो । कार्यक्रममा ताथलीका रोहित सुवाल, राजेन्द्र बोयजू, कृष्णप्रसाद फैजू, विष्णुप्रसाद फैजू, गायत्रीमाया श्रेष्ठ, जयराम फैजू, विष्णुप्रसाद छुकां, सुनिता विक, एलिना थापा, निरा कार्की राउत, भवानी पराजुली थापा, भुवन खड्का, बिलबहादुर सुवाल, दिशा सुवाल, दिपन्द्र सुवाल, सृजना फैजू, राज खड्का, रामबहादुर बस्नेत, दिनेश थापा र हरिशरण थापालगायतका युवाहरु कांग्रेस प्रवेश गरेका थिए ।
त्यसैगरी सोही अवसरमा विगतमा कांग्रेसको संगठन बिस्तारमा भूमिका निर्वाह गरी योगदान दिएका कृष्णप्रसाद ढुंगाना, शंकरप्रसाद ढुंगाना, बोजबहादुर बुढाथोकी, गजेन्द्रबहादुर बुढाथोकी, रामबहादुर थापा, भोलानाथ बुढाथोकी, उद्धव ढुंगाना, रघुनाथ बुढाथोकी, पुरुषोत्तम पराजुली, मोहनबहादुर थापा, केशव थापा, लक्ष्मण श्रेष्ठ, कपिल थापा, सानुभाइ बुढाथोकी, केदार बुढाथोकी, राजेन्दबहादुर बुढाथोकी, स्व. रत्न बहादुर श्रेष्ठ, स्व.रुद्रबहादुर खत्री, धु्रब गिरी, स्व. श्यामप्रसाद ढुंगाना, विष्णुप्रसाद श्रेष्ठ, रामकृष्ण थापा, माधव प्रसाद पराजुली, बेलबहादुर थापा, शिवराम थापा, स्व. मुरारी प्रसाद ढुंगाना, स्व. सन्तोष गिरी, दीर्घबहादुर खत्री र टेकबहादुर थापालगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कम्युनिष्ट पार्टीमा लागेर आफ्नो व्यक्तित्वको विकास नहुने भएकाले युवाहरुलाई कांग्रेसमा लाग्न आग्रह गर्नुभयो । उहाँले मुलुकको विकास, समृद्धि, सुशासनका लागि नेपाली कांग्रेसको विकल्प नभएको बताउनुभयो ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले सरकारले प्रदेशको भौतिक पूर्वाधारको विकासमा जोड दिईरहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, चाँगुनारायण नगरसभापति शिवहरी केसी, नवप्रवेशी कृष्णप्रसाद फैंजुलगायतले आगामी स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन आह्वान गरेका थिए ।