१६ बुँदें घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरुको बागमती प्रादेशिक सम्मेलन सम्पन्न

हेटौंडा, फागुन २२
मानव अधिकार रक्षकहरुले सुरक्षा, अधिकार संरक्षण तथा पहिचानका लागि १६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षकहरुको बागमती प्रादेशिक सम्मेलन हेटौंडामा शनिवार सम्पन्न भएको छ ।
सम्मेलनले समानता, सम्मान, संरक्षण र सुरक्षाको लागि मानव अधिकार रक्षकसम्बन्धी तीन तहका सरकारले कानुन तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, आयोगले रक्षकहरुलाई सहजरुपमा सूचना पहुँच पुर्याउन समन्वय गर्नुपर्ने, रक्षकहरुको सुची आयोगले तयार गरी नियमित अद्यावधिक गर्नुपर्ने, रक्षकहरुको मापदण्ड निर्धारण गरी उचित सम्मान र पुरस्कारको व्यवस्था गरिनुपर्ने, तीन तहमा कार्यरत रक्षकहरुको क्षमता अभिबृद्धि गर्नुपर्ने, रक्षकहरुको व्यवसायिक र पेशागत सुरक्षाको लागि राज्यका संयन्त्रहरुले सहयोग र समन्वय गर्नुपर्ने, महिला, एकल महिला, मानव बेचविखन पिडित महिला, दलित, अपांगता भएका, आदिवासी जनजाती, सिमान्तकृत, लोपोन्मुख, जेष्ठ नागरिक, असाह्य बालबालिका, किशोरी, एचआईभि संक्रमित, लैंगिक तथा यौनिक अल्पसंख्यकलगायतका समुदायका अधिकार रक्षकहरुको उचित सशक्तिकरण गर्नुपर्ने घोषणा गरेको छ ।
त्यसैगरी मानव अधिकार आयोगमा रक्षकहरुको सहज पहुँचको लागि छुट्टै डेस्क स्थापना गर्नुपर्ने, रक्षकहरुलाई कुने जोखिम आइपरे तत्काल उघार गर्न सक्ने जिल्ला स्तरिय आपतकालिन रेस्पोन्स टिम गठन गर्नुपर्ने, विद्यालय शिक्षाको पाठ्यक्रममा रक्षकहरुको विषय समावेश गर्नुपर्ने, तीनै तहमा रक्षकहरुको सशक्तिकरणका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, प्राकृतिक स्रोतको सुरक्षा तथा वातावरणीय न्यायमा कार्यरत रक्षकहरुको थप सुरक्षा र संरक्षण गर्नुपर्ने, मानव अधिकार आयोगले गरेका सिफारिसहरुको उचित कार्यान्वयन गर्न सरकारले ध्यान दिनुपर्ने, संक्रमणकालिन न्यायलाई छिटो छरितोरुपमा टुंगोमा पुर्याई दण्डहिनताको अन्त्य गर्नुपर्ने, प्रत्येक दुई दुई वर्षमा रक्षकहरुको प्रादेशिक सम्मेलन गर्नुपर्ने र घोषणापत्रको उचित कार्यान्वयनका लागि सम्बन्धीत निकायलाई अनुरोध गर्दै घोषणापत्रमा रक्षकहरुले मानव अधिकारको रक्षा, सम्वर्धन तथा प्रवद्र्धनको लागि सशक्त भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ ।
सम्मेलनको दोस्रो दिन पनि चार वटा सत्रमा विभिन्न विषयका छलफल भएको थियो । नेपाल मानव अधिकार संगठन मकवानपुरका अप्सरा बस्नेतले अध्यक्षता गरेको दोस्रो दिनको पहिलो सत्रमा गैसस महासंघ मकवानपुरका डा. कृष्णप्रसाद गौतमले राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संस्था, मानव अधिकार रक्षकबीचको सहकार्य, समन्वयको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
दोस्रो सत्रमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षता मानव अधिकार रक्षकहरुको अवस्था मुल्यांकन र विष्लेषण गर्ने तथा विवरण तयार गर्ने प्रयोजनका लागि तयार गरेको प्रश्नावलीका बारेमा छलफल भएको थियो । जसको सहजीकरण आयोगका लोकनाथ घिमिरेले गर्नुभयो ।
गैसस महासंघ ललितपुरका अध्यक्ष टिकाराम दाहालले अध्यक्षता सञ्चालित तेस्रो सत्रमा शक्ति समूहका अध्यक्ष चरीमाया तामाङले मानव अधिकारका विशिष्ट सवालमा क्रियाशिल मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा, चुनौती र संरक्षणका उपायहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
सम्मेलनको अन्तिम सत्रमा काभे्रपलाञ्चोकका प्रदिप केसीको अध्यक्षतामा आयोगका सरिता ज्ञवालीले सहजीकरण गर्दै मानव अधिकार रक्षकहरुको अवस्था र स्थिति पत्र तयार गरी सम्मेलनको घोषणा पत्रको रुपमा जारी गरिएको थियो ।
सम्मेलनमा १३ जिल्लाका ३० वटा भन्दा बढी मानव अधिकारसँग सम्बन्धीत संघसंस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसियसनका प्रतिनिधि गरि करिव ८० जनाको सहभागिता रहेको थियो ।