बाँसुरी बाधक सार्वजनिक

भक्तपुर, फागुन २२
भक्तपुर नगरपालिका–७, गोल्मढीमा आइतवार बाँसुरी बाजा बाधकहरु सार्वजनिक भएका छन । गोल्मढीको यातास्थित सहलह वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बाँसुरी बाजा प्रशिक्षण समापनको अवसरमा प्रशिक्षार्थीहरु सार्वजनिक भएको हो ।
गत वर्षको चैत्र १९ गतेदेखी प्रशिक्षण शुरु गरेका प्रशिक्षार्थीहरु करिव एक वर्ष लामो प्रशिक्षणपछि सार्वजनिक भएका हुन । नेवारी परम्परा अनुसार प्रशिक्षणका क्रममा प्रशिक्षार्थीहरुको परिचय गोप्य राखिन्छ । प्रशिक्षणको समापनसँगै नासः द्यो (नाट्यश्वरी)को पुजा गरी प्रशिक्षार्थीहरु सार्वजनिक हुने गर्दछ ।

परम्परागत साँस्कृतिक बाजागाजा संरक्षण एवं नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उद्देश्यले बाँसुरी बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको सहकारीले जनाएको छ । प्रशिक्षार्थीहरुलाई भक्तपुर नगरपालिका–९, साकोलाङका गायक तथा संगितकार राजकुमार मानन्धरले प्रशिक्षण दिनुभएको थियो । कोरोना संक्रमणको जोखिमका कारण बन्दाबन्दीको बेला अनलाइनमार्फत प्रशिक्षण दिएको बताउँदैं गुरु मानन्धरले कोरोना कारण पनि प्रशिक्षण लम्बिएको जानकारी दिनुभयो ।
उहाँले कोरोनाको जोखिम कम भएसँगै नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालन गरी प्रशिक्षण सञ्चालन गरेको बताउनुभयो । प्रशिक्षणका क्रममा आवश्यक बाजागाजालगायतको आवश्यक व्यवस्थापन सहकारीले गरेको थियो । प्रशिक्षणमा महिला पुरुष गरी २१ जना सहभागी भएका थिए ।