दक्षिणासहित बिदा भए डोलेश्वरबाट साधुसन्त

भक्तपुर, फागुन १८
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधवार बिदाई गरिएको छ ।
महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले बिदाई गरिएको हो ।
डोलेश्वर दर्शन गर्न आएका २२४ साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिनुभयो ।


डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको थियो । समितिले क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय दक्षिणा, ख वर्गलाई नगद ७ सय रुपैयाँ र ग वर्गलाई नगद ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, १ थान धोती प्रदान गरी बिदाई गरेको अध्यक्ष चालिसेले बताउनुभयो ।
डोलेश्वरमा महाशिवरात्री पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो ।