एमसीसीमा कुनै राष्ट्रघात भएको छैन – महामन्त्री शर्मा

भक्तपुर, फागुन १९
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गरेर कुनै राष्ट्रघात नभएको दावी गर्नुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले बिहिवार आयोजना गरेको प्रथम नगर सम्मेलनमा महामन्त्री शर्माले एमसीसी परियोजना नेपालको पुर्वाधार विकासको नयाँ आयाम भएको बताउँदैं त्यसमा कुनै राष्ट्रघात नभएको जिकिर गर्नुभएको हो ।
नेपालको समृद्धिको बाटो विद्युतको उत्पादन र निर्यात भएको बताउँदैं शर्माले एमसीसी परियोजना अन्तर्गत निर्माण हुने प्रशारण लाइनले नेपालको विद्युत भारतलगायतका तेस्रो मुलुकमा निर्यात गर्न सहज हुने बताउनुभयो । “प्रशारण लाइनको विकासले विद्युतको बजारीकरण र उत्पादन दुवै बढ्ने छ । विद्युत भयो भने नेपालको डाँडाकाँडामा उद्योग धन्दा खुल्ने छ । आज वैदेशिक रोजगारमा गएका युवाहरुले भोली स्वदेशमै उद्योग व्यवसाय मात्र होइन रोजगारीको अवसर पाउने छ । नेपाल समृद्धिको बाटोमा हिँड्ने छ,” शर्माले भन्नुभयो ।

कांग्रेस कुनै पनि शर्तमा राष्ट्र र राष्ट्रियतको विरुद्ध जान नसक्ने जिकिर गर्दै शर्माले भन्नुभयो, “एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेक्कार हो । कांग्रेसले कहिल्यै राष्ट्रघात गर्र्ने त के सोच्न पनि सक्दैन ।”
उहाँले नेपाललाई कुनै पनि मुलुकको सैन्य रणनीति स्वीकार्य नहुने बताउनुभयो । “नेपाललाई अमेरिकी सैन्य रणनीति मात्र होइन चीन, भारत र अन्य कुनै मुलुकको सैन्य रणनीति स्विकार्य हुन सक्दैन । हुनु पनि हुँदैन ।” उहाँले चीनको बिआरई पनि नेपालले स्विकार गरेको तथ्य स्पष्ट पार्दै भारत वा अन्य मुलुकका सहयोग पनि स्विकार गरी समृद्धिको बाटोमा नेपाललाई लैजान कांग्रेस तयार रहेको बताउनुभयो ।
एमसीसीको विरोधमा नयाँ बानेश्वरमा मुर्दावादका नारा लगाउने, नो एमसीसी भन्दै सामाजिक सञ्जाललगायतमा विचार पोख्ने युवाहरुको कुनै गल्ती र दोष नभएको टिप्पणी गर्दै शर्माले जसले एमसीसीको विरुद्ध भ्रम फैलाए उनीहरु दोषी रहेको बताउनुभयो । “बानेश्वरको सडकमा एमसीसी मुर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, फेसबुकमा नो एमसीसी लेख्नेको दोष छैन, जसले यो एमसीसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे, यो यस्तो हो, उस्तो हो भनेर भ्रम फैलाए, दोष उनीहरूको हो, द्वैध चरित्र देखाउने नेताहरूको हो,” उहाँले भन्नुभयो ।
संसदमा एमसीसीमाथि छलफल चलिरहँदा चार घण्टासम्म नारावाजी गरेका नेकपा एमालेका सांसदहरुले एक पटक पनि एमसीसी विरुद्ध नारावाजी नगर्नुले एमाले पनि एमसीसीको पक्षमा रहेको स्पष्ट भएको तर्क गर्दै शर्माले एमसीसीको छलफलमा भाग नलिनु र समर्थन छ भनी स्पष्ट भन्नु नसक्नु एमालेको पनि दोहोरो चरित्र भएको आरोप लगाउनुभयो ।


गठबन्धनमा रहेका दलहरुले एमसीसी चुनाव पछि संसदबाट पास गरौं भनी राखेको प्रस्ताव प्रति कडा कटाक्ष गर्दै शर्माले भन्नुभयो, “चुनाब अगाडि एमसीसी राष्ट्रघात हुने र चुनाब पछि राष्ट्रहित हुने यो कस्तो राष्ट्रवाद हो ? राष्ट्रघात हो भने त चुनाव अघि गरेपनि पछि गरे पनि राष्ट्रघात नै हो । त्यसैले कांग्रेसले राष्ट्रघात हुने काम गर्दैन ।” उहाँले एमसीसी संसदबाट पास हुने बित्तिकै नेपालमा अमेरिकी सेना आउँछ भन्नेहरुलाई अमेरिकी सेना कहाँ आइपुग्यो भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र त्यसको ६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनमा तमाम युवाहरुलाई मतदान गर्न आह्वान गर्नुभयो । उहाँले मतदान गर्दै गर्दा एक पटक निर्वाचित जनप्रतिनिधिहरुको विगत ५ वर्षको मूल्यांकन गरेर मात्र मतदान गर्न समेत आग्रह गर्नुभयो ।


उहाँले राजनीतिदेखि बिरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई अनुरोध समेत गर्नुभयो । “म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाई पहिलो पटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ,” शर्माले भन्नुभयो, “जस्तोसुकै अबस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर जब मतदान गर्ने बेला आउँछ एक पटक गम्भिर भएर सोच्नुस्, यसअघिको सरकारको समिक्षा गर्नुस्, अहिले काँग्रेस सरकार आएको छ यसको पनि समिक्षा गर्नुस्, र मतदान गर्नुस् ।”
उहाँले कम्युनिष्टहरुले स्थायित्व र समृद्धिको नारा दिएर मत माग्दै गर्दा जनताले एक पटक विश्वास गरेर झण्डै दुई तिहाई मत दिए पनि नेकपा एमाले र माओवादीले त्यसको सम्मान गर्न नसकेको आरोप लगाउनुभयो । जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएपनि कम्युनिष्टहरुले ३ वर्षमा कांग्रेसलाई सत्ता सुम्पेको जिकिर गर्नुभयो । उहाँले जनताको म्याण्डेट अनुसार सत्ता चलाउन नसकेर बीचमै अर्कोलाई सुम्पने दलहरुलाई भन्दा सिधै कांग्रेसलाई बहुमत दिन आग्रह समेत गर्नुभयो ।


“पाँच वर्षका लागि चुनाब जितेका नेकपाले सरकार चलाउँदा केपी ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने भन्थ्यो तर तीन वर्ष पनि सरकार चलाउन सकेन । पाँच वर्षका लागि सत्तामा पुर्याएकाहरुले तीन वर्षमा कांग्रेसलाई सत्ता बुझाउने भए सिधै कांग्रेसलाई बहुमत दिए भइहाल्यो नी,” उहाँले भन्नुभयो ।
उहाँले के पी ओलीले दादागिरी शैलीमा प्रस्तुत हुने गरेको आरोप लगाउनुभयो । “ठूलो पार्टीका अध्यक्ष, प्रधानमन्त्री भइसकेका मान्छे, एक्लै एक्लै आउँ, नसके सबै मिलेर आउँ, एमाले भिडन तयार छ भन्छन, यो कस्तो दादागिरी हो ?” उहाँले भन्नुभयो ।
उहाँले तमाम नेकपा एमालेका कार्यकर्ता र समर्थक जसले हिजो के पी शर्मा ओलीका चुच्चे रेल, हिन्द महासागरमा पानीजहाज, घरघरमा ग्यासका पाइपका नारा सुनेर मत दिए उनीहरुलाई चुच्चे रेल, पानी जहाज र ग्यासका पाइप कहाँ आईपुगे भनेर ओलीलाई प्रश्न गर्न आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले मध्यपुर थिमिमा नगर प्रमुखको वेथिती बढ्दै गएको आरोप लगाउँदैं सस्तो लोकप्रियताको लागि बढी प्रचारात्मक कार्य गर्ने शैलीले नगर भित्रभित्र खोक्रो बन्दै गएको बताउनुभयो । “दुई चार वटा पाटी पौवा, पोखरी र मन्दिर पुनर्निर्माण गर्दैमा विकास हुँदैन । नगरपालिका नीति नियम अनुसार चलेको छैन । नगरप्रमुख तजविजमा चलेको छ । जताततै वेथिती छ,” उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा कांग्रेसमा कुनै पक्ष विपक्ष, विवाद र गुट उपगुट नभएको स्पष्ट पार्दै कांग्रेसको अधिवेशनमा खेल्न खोज्ने विपक्षी दलहरुको प्रयास असफल भएको दावी गर्नुभयो । विगतका निर्वाचनमा प्रहरी प्रशासन एमालेको इशारामा चलेको आरोप लगाउँदैं अबको निर्वाचनमा प्रहरी र प्रशासन निष्पक्ष भएर लाग्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस भक्तपुरका नेता एवम् महासमिति सदस्य अष्ट कवेले भक्तपुर कांग्रेसभित्र कुनै विवाद नभएको स्पष्ट पार्दै विगतका कमीकमजोरीलाई अन्त्य गरेर कांग्रेस अघि बढे आगामी निर्वाचनमा सबै दल मिलेर आएपनि मध्यपुर थिमिमा कांग्रेसलाई हराउन नसक्ने दावी गर्नुभयो ।
नगरसभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्वजिल्ला सभापतिद्धय गणेशमान चक्रधर र महेश श्रेष्ठ, मध्यपुर थिमि नगर उपप्रमुख एवम् महासमिति सदस्य अञ्जनादेवी मधिकर्मी, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, २ का सभापति भेषबहादुर कार्की, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा ख का सभापति ओमप्रकाश श्रेष्ठ, मध्यपुर थिमिका निवर्तमान सभापति सुरेन्द्र श्रेष्ठ, नगरसचिव राम थापामगर, वडा नं. ४ का इकाइ सभापति राजसुन्दर श्रेष्ठलगायतले आगामी निर्वाचनमा मध्यपुरमा कांग्रेसको जित सुनिश्चित भएको बताउनुभयो ।
कार्यक्रम अघि मध्यपुर थिमिका ९ वटै वडाबाट बाजागाजासहितको ¥याली बालकुमारी परिसर आइपुगेको थियो ।