विप्लव र बिजुक्छेंबीच पौने दुई घण्टा छलफल

भक्तपुर, फागुन १८
भक्तपुर ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)बीच बुधवार साँझ भक्तपुरमा भेटवार्ता भएको छ । कमलविनायकस्थित एक क्याफेमा भएको भेटवार्तामा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएपछिको विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताईएको छ । यद्यपी भेटमा भएको छलफलबारे दुवै पक्षले सार्वजनिक भने गरेको छैन ।
बिजुक्छेंलाई भेट्न विप्लव पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई साथमा लिएर साँझ साढे ४ बजे कमलविनायक पुगेका थिए । भेटवार्ता सवा ६ बजेसम्म चलेको थियो । छलफलमा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालपनि सहभागी भएका थिए ।
संसदले एमसीसी पास गरेसँगै बदलिएको राजनीतिक परिस्थितीमा दुई वाम घटकका नेताहरुको लामो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवै दल एमसीसीको प्रखर विरोधी दल हुन । दुवै दलले एमसीसी संसदबाट पारित गर्न नहुने भन्दै आन्दोलन समेत गरेका थिए ।