कांग्रेस महामन्त्री शर्माले बिहिवार मध्यपुर थिमिको बालकुमारी सम्बोधन गर्ने

भक्तपुर, फागुन १८
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहिवार मध्यपुर थिमि वडा नं. ४ स्थित बालकुमारीमा सम्बोधन गर्ने भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले आयोजना गर्ने मध्यपुर थिमि नगर सम्मेलनको उद्घाटनका क्रममा महामन्त्री शर्माले सम्बोधन गर्न लागेको हो ।
सम्मेलनको बन्द सत्रमा पार्टी संगठन बिस्तारको कार्य दिशा निर्धारण, आगामी चुनावी रणनीति, भातृ तथा शुभेच्छुक संगठन बिस्तार, भावी कार्यक्रम तर्जुमा, निष्क्रिय बसेका पार्टीका पुराना अग्रज नेता कार्यकर्ताहरुलाई चलायमान बनाउने बारेमा छलफल हुने नगर सचिव राम थापा मगरले बुधवार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो । त्यसैगरी वडागत समूह गठन गरी आवश्यक छलफल, बहश गरी आवश्यक निर्णयसहित घोषणापत्र जारी गरी कार्यान्वयन लगिने थापा मगरले बताउनुभयो ।
सम्मेलनको बन्द सत्रमा नेपाली कांग्रेस मध्यपुर थिमिको क्षेत्रीय प्रतिनिधि, वडा इकाई समितिका पदाधिकारीहरु र पर्यवेक्षकहरुसहित करिव ४ सय जनाको सहभागिता रहने नगर सभापति हरिदास प्रजापतिले बताउनुभयो ।
सभापति प्रजापति सम्मेलनले कांग्रेसलाई मध्यपुर थिमिमा निर्वाचनमय बनाउने दावी गर्नुभयो । “स्थानीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सम्मेलन निर्वाचन केन्द्रीत हुनु स्वभाविक हो,” उहाँले भन्नुभयो, “सम्मेलन निर्वाचन लक्षित नै हो । सम्मेलनसँगै कांग्रेस निर्वाचन होमिन्छ ।”
मध्यपुर थिमिमा कांग्रेस बलियो शक्ति हुँदा हुँदैं विगतको निर्वाचनमा नगर प्रमुख पराजय हुनु कांग्रेसको दुर्भाग्य भएको बताउँदैं सम्मेलनले विगतका कमीकमजोरी केलाउँदैं नयाँ रणनीति तय गरी कांग्रेस अघि बढ्ने प्रजापतिले बताउनुभयो ।
सम्मेलनका लागि मञ्च व्यवस्थापन, प्रचार प्रसार समिति, आर्थिक समिति, युवा परिचालन समितिलगायत विभिन्न उपसमितिले तयारी पुरा गरिसकेको सचिव थापा मगरले बताउनुभयो ।
सम्मेलनमा नगरका ९ वटै वडा समिति व्यानरसहित पदयात्रा गरी कार्यक्रम स्थल बालकुमारी आउने छ । महामन्त्री शर्मालाई वडा नं. १ लोकन्थलीमा स्वागत गरी मोटरसाइकल ¥यालीसहित बालकुमारी पुर्याईने सचिव थापा मगरले बताउनुभयो ।