महाशिवरात्रीका अवसरमा डोलेश्वरमा दर्शनार्थी घुईंचो

भक्तपुर, फागुन १७
महाशिवरात्रीको अवसरमा आज बिहानैदेखी भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । महाशिवरात्रीको दिन महादेवको विशेष पुजा गर्ने परम्परा अनुसार डोलेश्वरमा दर्शनार्थीको घुईंचो लागेको हो ।
महाशिवरात्रीको अवसरमा डोलेश्वर महादेवको मुल मुर्तिलाई स्पर्श गरेर पुजा गर्न पाउने व्यवस्था गरेको छ । मन्दिरको मुल ढोकाबाट प्रवेश गरी गर्भगृहमा रहेको मुल मुर्तिलाई स्पर्श गरेर पुजा गरी दक्षिण ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
डोलेश्वरमा वर्षको तीन पटक अक्षय तृतिया, भदौ ६ गते र महाशिवरात्रीको अवसरमा भक्तजनले मन्दिरभित्र प्रवेश गरी मुल मुर्तिलाई स्पर्ष गरी पुजा गर्न पाउने व्यवस्था छ ।


महाशिवरात्रीको अवसरमा सर्वसाधारण भक्तजनका लागि डोलेश्वर महादेव मन्दिरको चारै ढोका विहान ४ बजेदेखि खुला गरिएको छ । मन्दिरमा विशेष पुजाका साथै हवन र रुद्धाभिषेक गरि पञ्चस्नान गराउने ब्यवस्था समेत समितिले मिलाएको छ । साँझ पाँच प्रहरको विशेष पुजाका साथै आरती गर्ने व्यवस्था गरिएको समितिका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिनुभयो ।
महाशिवरात्रीका लागि डोलेश्वर परिसर बेहुली झैं सिंगारिएको छ । मुल मन्दिर, मुल प्रवेशद्धारलगायतका स्थानमा फुलैफुलको मालाले सिंगारिएको छ ।
दर्शनार्थीहरुको व्यवस्थापन र सुरक्षाका लागि नेपाल स्काउट, सिपाडोलस्थित महिला समूहहरु, महानगरिय प्रहरी परिसर भक्तपुर र वृत्त जगातीका प्रहरीले लाइन व्यवस्थापनलगायतका कार्य गरिरहेको समितिका सह कोषाध्यक्ष दिलिप केसीले जानकारी दिनुभयो ।
त्यस्तै भक्तपुर अस्पताल, मध्यपुर अस्पताल, सूर्यविनायक नगर अस्पताल, आयुर्वेद अस्पताल, नेपाली सेनाको इन्द्रबक्स गण, नेपाल रेडक्रस सोसाईटी सिपाडोल उपशाखाले स्वास्थ्य परिक्षण र रक्तदान कार्यक्रमको व्यवस्था गरिएको छ । मानव सेवा संघले भक्तजनहरुको लागि प्रसादी र भोजन तथा सर्वतको व्यवस्था गरेको छ ।


पछिल्लो समय डोलेश्वरमा शिवरात्रीको अवसरमा भक्तजनको साथै स्वदेश र विदेशबाट समेत उल्लेख्यरुपमा साधुसन्त र बाबाहरुको आगमन हुने गरेको छ । यसवर्ष महाशिवरात्रीका लागि करिव २ सय ५० साधुसन्त डोलेश्वर आइपुगेको कोषाध्यक्ष बल्ले बताउनुभयो ।
साधुसन्तलाई निःशुल्क भोजनका साथै धुनी बाल्न आवश्यक दाउरा समिलिे उपलब्ध गराएको छ । साधुसन्तहरुलाई शिवरात्रीपछि वर्ग अनुसार दक्षिणा र उपहार दिएर बिदा गरिने कोषाध्यक्ष बल्लले जानकारी दिनुभयो ।
महाशिवरात्रीकै अवसरमा भक्तपुरका आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेव र भक्तपुर नगरस्थित दत्तात्रयमन्दिरका साथै विभिन्न शिवालयहरुमा समेत दर्शनार्थीको घुईंचो लागेको हो ।
शिवरात्रीको दिन विहानै नुहाई धुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गंगाजल, गाईको दुध र शखरले स्नान गराई फलफुल, मिठाई, धटुरो र बेलपत्र चढाउने परम्परा रहेको छ । महाशिवरात्रीको दिन महादेवलाई पुजा गर्नाले घरमा सुख शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहित महिलाले महादेवको पुजा गर्नाले राम्रो वर पाउने धार्मिक आस्था रहेको छ ।