भक्तपुर नगरपालिकामा एक करोड ६० लाख रुपैंया रकमान्तरण

भक्तपुर, फागुन ३
भक्तपुर नगरपालिकाको चालु ११ औं नगरसभा बैठकले एक करोड ६० लाख रुपैंया रकमान्तरण गरेको छ । नगरसभाको मंगलवार बसेको बैठकले चालु आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित बजेटको पुँजीगततर्फ विभिन्न ६ वटा शीर्षकमा रु. १ करोड २५ लाख र चालुतर्फ विभिन्न ४ वटा शीर्षकमा रु. ३५ लाख रकमान्तरण गरेको हो ।
नगरप्रमुख एवम् नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाले गठन गरेको खानेपानी समितिका संयोजक महेन्द्र खायमली, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कृषि र बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, महिला, बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंयाँ सुवाल, सूचीकरण समितिका सदस्य हरिराम सुवाल र निर्माण समितिका संयोजक उकेश कवांले सम्बन्धित समितिहरुको अर्ध वार्षिक प्रगति प्रतिवेदन पेश गरेको थियो । सभाको अर्को बैठक फागुन ५ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको छ ।