ब्याटिङमा चुक्दा नेपाल ऐतिहासिक जितबाट वञ्चित

भक्तपुर, फागुन ३
सुधारोन्मुख र बलियो मानिएको व्याटिङ अन्तिम र महत्वपूर्ण अवस्थामा चल्न नसक्दा नेपाल ओमानमा सम्पन्न चार देश सम्मिलत टि–२० सिरिजमा ऐतिहासिक जितबाट वञ्चित भएको छ ।
सिरिजको अन्तिम खेलमा सोमवार टेष्ट राष्ट्र आयरल्यान्डविरुद्ध उत्कृष्ट बलिङ गरेपनि अन्तिममा व्याटिङमा चुक्दा नेपाल पहिलो पटक टेष्ट राष्ट्रलाई हराउने अवसर चुकाउन पुगेको हो ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । नेपालका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरेपछि आयरल्यान्ड २० ओभरमा अलआउट हुँदैं १२७ रनमा खुम्चिएको थियो । १२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको व्याटिङ कमजोर हुँदा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन मात्र बनाउन सक्यो र खेलमा १६ रनको पराजय भोग्न बाध्य भयो । नेपालले आयरल्यान्डमाथि जित निकाल्न सकेको भए नेपालले नेट रनरेटको आधारमा सिरिज जित्ने सम्भावना थियो, तर पराजयसँग चार देशमा सबैभन्दा पुछारमा रहन पुग्यो ।
१ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले नेपालका दीपेन्द्रसिंह ऐरीले ३० बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४.१ ओभरमा २६ रनको साझेदारी गरेका थिए । कुशल ब्यारी म्याकर्थीको बलमा दील स्कुप सट खेल्ने धुनमा बोल्ड भए । युवा ब्याटर लोकेश बम मार्क आदिरको छैटौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा जर्ज डोकरेलबाट ६ क्याच आउट भए । स्पिनर एन्डी म्याकबर्नीको बलमा ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा डोकरेलबाट क्याच भए ।


आसिफले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्ल ५ रनमा आउट हुँदा शरद भेषवाकर १ रनमा आउट भए । कमल ऐरी १३, कुशल मल्ल ९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने १ रनमा आउट भए । अविनाश बोहरा ३ र जितेन्द्र मुखिया १ रनमा अविजित रहे ।
नेपाललाई अन्तिम १२ बलमा २४ रन जितको लागि चाहिँएको थियो । सिमी सिंहले कुशल मल्ल र कमल सिंह ऐरीलाई तेस्रो र चौथो बलमा क्याच गराएसँगै नेपालको जितको सम्भावना सकिएको थियो । आयरल्याण्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले २÷२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा अलआउद हुदै १ सय २७ रन बनाएको थियो । आयरल्याण्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रन जोड्दा कर्टिस क्याम्फरले २० रन बनाए । कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी म्याकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ र सिमी सिंहले १ रन जोडे ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारे । दिपेन्द्रले चार ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए । अविनाश बोहराले दुई विकेट लिए । सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १÷१ विकेट लिए ।
सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो । योसँगै नेपालको आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट एको तयारी पूरा भएको छ ।


नेपालले अब ओमानमै आयोजना हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट खेल्नेछ । नेपालको समूह ए मा ओमान, फिलिपिन्स र क्यानडा छ । समूह बी मा आयरल्यान्ड, युएई, जमर्नी र फिलिपिन्स छन् । शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनल पुग्ने टोली विश्वकपको लागि छनोट हुनेछन् । नेपालले पहिलो खेल १८ फेबु्रअरीमा ओमानसँग खेल्नेछ । नेपाल सेमिफाइनल हुँदै फाइनल पुग्ने सके आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्न पाउने छ ।