बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे भक्तपुर भ्रमणमा

भक्तपुर, फागुन २
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रहरुको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा भक्तपुर आउनुभएका मुख्यमन्त्री पाण्डेले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप अस्पताल, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको अभिरुचिपूर्वक स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्न सोहीअनुरुपका कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशअन्तर्गत उच्च शिक्षा समितिको विधेयकमा सार्वजनिक, मानित र ट्रष्टअन्तर्गत विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्था रहेको हुँदा स्थानीय तहले त्यसअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।


उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिदैं बागमती प्रदेशले प्रदेश मातहतका अस्पताललाई एक अर्ब बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको स्मरण गर्नुभयो ।
बागमती प्रदेशअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति दिने योजना अगाडि ल्याएको जानकारी दिँदैं उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सम्पदा संरक्षणको क्षेत्रमा गरिरहेको गतिविधि प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले ख्वप अस्पताललाई १०० शैय्या क्षमताको स्वीकृति प्रदान गर्न, अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि स्वास्थ्य उपकरण तथा सामाग्रीहरु व्यवस्था गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सांस्कृतिक सहर भक्तपुरको संक्षिप्त परिचय तथा विशेषताबारे अवगत गराउनुयो । उहाँले ख्वप अस्पताल १०० शैय्याको स्वीकृतिको लागि आवश्यक सहयोगको लागि मुख्यमन्त्री पाण्डेलाई आग्रह गर्नुभयो ।
आकारले सानो भक्तपुर नगरलाई ‘ज्ञानविज्ञानको केन्द्र’ र पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानलाई सार्थकता दिन भक्तपुर नपाले जोड दिँदै नगरप्रमुख प्रजापतिले ख्वप विश्वविद्यालयको स्विकृति पाएमा सस्तोमा गुणस्तरीय चिकित्सकहरु उत्पादन गरेर देशलाई आवश्यक जनशक्ति उपलब्ध गराउने बताउनुभयो ।
सो अवसरमा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँ, सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका वडाध्यक्ष रबिन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतको उपस्थिति थियो ।