पुरातात्विक महत्वका वस्तुहरु विभागलाई हस्तान्तरण

भक्तपुर, फागुन २
महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरेका ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्वका २४ थान मूर्ति सोमवार पुरातत्व विभागलाई हस्तान्तरण गरेको छ । परिसरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) शिवकुमार श्रेष्ठले सो मुर्तिहरु पुरातत्व विभागका पुरातत्व अधिकृत सविता न्यौपानेलाई परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो ।


हस्तान्तरण गरिएका मुर्तिहरुमा काठको मुर्ति ४ थान, ढुंगाको मुर्ति १२, माटोको मुर्ति एक, ढलोटको मुर्ति ४, फलामको मुर्ति एक, क्रिष्टलको मुर्ति एक र चाँदीको थाल एक थान रहेका छन । हस्तान्तरण गरिएका सामग्रीहरुमा टुँडाल, भागिरथ, विष्णुको मूर्ति, ढलोटका जोडी सिँह, माटोको भगवती मूर्ति, गणेश मूर्तिलगायतका प्राचीन सम्पदाहरु रहेका छन ।
विगत लामो समयदेखि भक्तपुर जिल्लाको विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला पारी परिसरमा सुरक्षित राखिएका पुरातात्विक महत्वका सामग्रीहरुको थप सुरक्षा र यसको उपयोगिताको लागि विभागलाई हस्तान्तरण गरिएको एसपी श्रेष्ठले बताउनुभयो ।


विभागले प्राप्त सामग्रीलाई काठमाण्डौं छाउनीस्थित संग्रहालयमा राखिने पुरातत्व अधिकृत न्यौपाने जानकारी दिनुभयो । उहाँले विभागको समितिले प्राप्त वस्तुहरुको धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका बारेमा थप खोज तथा अनुसन्धान गरी अभिलेख राख्ने बताउनुभयो । उहाँले कोही स्थानीय समूदायले प्रमाणसहित दावी गर्न आएका पुनःस्थापनाका लागि प्रदान गरिने जानकारी समेत दिनुभयो । प्राप्त मुर्तिहरु अधिकांश मल्लकालिन मुर्तिहरु रहेको अधिकृत न्यौपानेले बताउनुभयो ।