ख्वप अस्पतालमा अन्तरंग सेवा शुरु

भक्तपुर, फागुन १
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले आज (आइतवार)देखी अन्तरंग सेवा शुरु गरेको छ । ख्वप अस्पतालले ब्रम्हायणीस्थित कोभिड युनिटको भवनबाट अन्तरंग सेवा शुरु गरेको हो ।
ख्वप अस्पतालले ५ शैय्याको आइसीयु र २५ शैय्याको एचडीयु सहित बिरामी भर्ना समेत शुरु गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । ख्वप अस्पतालले हाल इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छाला लगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
नगरबासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै ख्वप अस्पताललाई १०० शैय्याको बनाउने तयारी गरिरहेको र ख्वप अस्पतालले दैनिक ५०० देखि ६०० जनाभन्दा बढी विरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
ख्वप अस्पतालले आ.व. २०७७÷७८ मा ४० जिल्लाका १ लाख १२ हजार ०२२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको तथ्यांक छ भने २०७८÷७९ को ६ महिनामा ८३ हजार २३५ जनालाई उपचार सेवा प्रदान गरेको छ ।
ख्वप अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्देश्य अनुसार दैनिक ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक बिदाका साथै शनिबारमा समेत सो सेवा प्रदान गर्दै आएको छ । साथै वडा वडामा स्वास्थ्य केन्द्रहरू निर्माण गरी नगरबासीहरूलाई छिटो छरिटो स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार भक्तपुर नपा वडा नं. २ व्यासी, वडा नं. ५ भगवतीस्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको अस्पतालले जनाएको छ ।