स्थानीय तह आत्मनिर्भर हुनु संघीय र स्वायत्तताको सकारात्मक पक्ष – अध्यक्ष बिजुक्छें

भक्तपुर, फागुन १
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले स्थानीय तह आत्मनिर्भर हुनु संघीय र स्वायत्तताको सकारात्मक पक्ष भएको बताउनुभएको छ । अध्यक्ष बिजुक्छेंले आइतवार भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालको निरिक्षण गर्दै स्थानीय तहहरू आत्मनिर्भर भएर जनताको सेवामा अघि बढ्नु संघीय र स्वायत्तताको सकारात्मक पक्ष भएको बताउनुभएको हो ।
अध्यक्ष बिजुक्छेंले स्थानीय तहले सरकारको मुख ताकेर नबसी आफ्नै स्रोतलाई उपयोग गरी आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले अस्पताल सञ्चालन गरी जनतालाई सेवा प्रदान गर्न सके केन्द्रीय र प्रदेश अस्पतालमा भइरहेको बिरामीको चाप घट्ने विश्वास व्यक्त गर्नुभयो । “अस्पतालका चिकित्सक र अन्य जनशक्तिले शिष्ट व्यवहारले बिरामीको छिटो उपचार हुनुको साथै जनताको गुनासो समेत कम हुनेछ,” उहाँले भन्नुभयो ।
उहाँले ख्वप अस्पताल पूर्णरुपमा सञ्चालनमा आएपछि सरकारी तथा निजी अस्पतालसँग तुलना गरी कमी कमजोरीलाई लिएर आलोचनासमेत हुन सक्ने हुँदा यसप्रति अस्पताल व्यवस्थापक र प्रशासक सचेत हुँदै अस्पताल व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुुवालले अस्पतालले अझ बढी जनताको सेवा गर्न सबै चिकित्सक तथा कर्मचारीहरुले इमान्दारीपूर्वक काम गर्नुपर्ने र अस्पतालमा आवश्यक अन्य स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न सुझाव दिनुभयो ।
निरीक्षणमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ९ नंं. वडाका वडाध्यक्ष रबिन्द्र ज्याख्व, ७ नं. वडाका वडाध्यक्ष उकेश कवां, ख्वप अस्पतालका डा. अमर प्रजापति, डा. मजेशप्रताप मल्ल, अस्पतालका व्यवस्थापक विश्वजित प्रजापति, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालसमेतको उपस्थिति रहेको थियो ।