नेपाल रेडक्रस सोसाईटी भक्तपुरको २७ औं जिल्ला सभामा विभिन्न विधाका उत्कृष्ट पुरस्कृत

भक्तपुर, माघ २९
नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाले उत्कृष्ट उपशाखा, कर्मचारी र स्वयम् सेवकहरुलाई पुरस्कृत गरेको छ । शाखाको २७ औं जिल्ला सभाको अवसरमा शनिवार पुरस्कृत गरेको हो ।
रेडक्रस भक्तपुरले एक वर्षको कार्य मूल्यांकनका आधारमा बालकोट उपशाखा, दुवाकोट उपशाखा र दिव्यश्वरी उपशाखालाई नगदसहित पुरस्कृत गरेको हो । एक वर्षको कार्य मूल्याकंनमा बालकोट प्रथम, दुवाकोट दृतिय र दिव्यश्वरी तृतिय भएको हो ।
त्यस्तै नगरकोट उपशाखाका सुदिमा कार्की उत्कृष्ट महिला स्वयम् सेवक, सुडाल उपशाखाका उपेन्द्र कार्की उत्कृष्ट पुरुष स्वयम् सेवक, बालप्रेमी माध्यामिक विद्यालय थिमि, उत्कृष्ट जुनियर रेडक्रस र बाराही उपशाखा उत्कृष्ट युवा रेडक्रस सर्कल र रमेश उपाध्याय उत्कृष्ट कर्मचारी विधामा नगदसहित पुरस्कृत भए ।
यसअघि शाखाको २७ औं जिल्ला सभाको उद्घाटन गर्दै बागमति प्रदेशका उद्योग, आपुर्ति तथा वाणिज्य राज्यमन्त्री रजनी अमात्य जोन्छेंले रेडक्रस भक्तपुरले मानवीय कार्यलाई निरन्तरता दिने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले रेडक्रस भक्तपुरले विपतका हरेक घटनामा उद्धार, सहायता मात्र नभई रगत नपाए भक्तपुर जानु भन्ने उक्तिलाई चरितार्थ हुने गरी जुनसुकै अवस्था र समयमा जुनसुकै समूहको रगत उपलब्ध गराउँदैं आएको भन्दै प्रशंसा गर्नुभयो ।


उहाँले रेडक्रसले प्रदान गर्ने प्राथमिक उपचार तालिम उत्कृष्ट रहेको चर्चा गर्दै यस्ता तालिम हरेक परिवारका कम्तिमा एक जनालाई दिन सके जटिल प्रकारका दुर्घटनामा पनि बढी क्षति हुन बाट जोगाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
शाखाका सभापति एवम् नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपमन्त्री मनोज कुमार थापाले रेडक्रसले कुनै पनि प्रकारका विपतका घटनामा मानविय सहायता उपलब्ध गराउँदैं आएता पनि संस्थामा रहेका केही व्यक्तिहरुको निहित स्वार्थका कारण संस्थालाई बदनाम गराउने कोशिष भएको बताउनुभयो ।


उहाँले शाखाले रेडक्रस को ७ औ विकास योजना र जिल्ला शाखाको ८ औ पञ्चे वर्षिय योजना अनुसार जिल्ला भित्र आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको र ति कार्यक्रमहरुले जिल्ला भित्र विपद, स्वास्थ्य, सामुदायिक विकासको क्षेत्रमा उल्लेखनिय योगदान पुराएको जानकारी दिनुभयो ।
स्वास्थय कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजार रेडक्रस भक्तपुर जिल्ला शाखाले कोभिड १९ प्रतिकार्यमा अतुलनिय कार्य गरेकोमा धन्यवादको पात्र भएको चर्चा गर्दै कोभिडको संक्रमण न्यूनिकरणका लागि सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले रेडक्रसमा पछिल्ला केही समय यता देखिएका विवादले संस्थाको मानविय सेवाको छवि धुमिल बनाउन सक्ने र यसको साख गिर्न सक्नेतर्फ सचेत पार्दै यस्ता गतिविधिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।


नेपाल रेडक्रस बालकोट उपशाखाका सभापति दिवाकर सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं २ का वडा अध्यक्ष कमलनाथ आचार्य, बालकोट उपशाखाका संस्थापक सभापति उद्धव सिलवाल, बालकोट उपशाखाका निवर्तमान सभापति चन्द्रकृष्ण श्रेष्ठ, उपसचिव जयराज पौडेललगायतले रेडक्रसको गतिविधिको चर्चा गर्नुभएको थियो ।
सभाको बन्दसत्रले शाखाका मन्त्री परशुराम पाण्डे, कोषाध्यक्ष प्रदिप कुमार के.सी प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र प्रस्तावित कार्यक्रमहरु पारित गरेको थियो ।