दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानमाथि नेपालको ६ विकेटको जित

भक्तपुर, माघ २८
दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतले नेपालले ओमानमाथि ६ विकेटको कीर्तिमानी जित हात हासिल गरेको छ । ओमान जारी चारदेशीय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ओमानमाथि जित निकालेको हो ।
स्पिनर सन्दिप लामिछानेको कप्तानी र प्रशिक्षक रोय् लुक डायसको प्रशिक्षणमा पहिलो पटक मैदानमा ओर्लेको नेपाली टोलीले श्रृंखलामा विजयी शुरुवात गर्न सफल भएको हो । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर नेपालले ओमानलाई व्याटिङको निम्तो दिएको थियो ।
ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले ४१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४३ रनमा अविजित रहे । ओमानका काश्यकपले ११, जितेन्दर सिंहले १३ रन बनाउँदा सोएब खानले ११ र आयन खानले ११ रन बनाए ।
पाँचौ र छैटौं नम्बरमा मैदान पसेका मकसुद र मोहम्मदन नदिमले उत्कृष्ट साझेदारी गरेपछि ओमानको ब्याटिङ सम्हालिएको थियो । यी दुई खेलाडीले ६१ रनको साझेदारी गरे । उनीहरुले ९ ओभर ३ बलमा ५८ रनसँगै ४ विकेट गइसके पनि टिमलाई १ सय १९ रनमा पु¥याए । नदिमले ३१ रन बनाए ।
नेपालका लागि अभिनाश बोहराले ३ विकेट लिए भने आरिफ शेख, सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान १÷१ विकेट झारे ।


१ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन बनाएपछि नेपाललाई जित सहज बनेको हो । दीपेन्द्रले ८ चौका र १ छक्काको सहयोगमा ५३ बलमा अविजित ७३ रन बनाए भने आरिफ शेखले २० बलमा २५ रन बनाए । नेपाललाई अन्तिम ६ बलमा ९ रन जितको लागि आवश्यक थियो । तीव्र गतिका बलर मोहम्मद नदिमई दीपेन्द्रले पहिलो बलमा चौका प्रहार गर्दै जित सहज बनाएका थिए । दोस्रो बलमा दुई रन बटुले । तेस्रो बलमा दीपेन्द्रले चौका प्रहार गर्दै जित पक्का गरे ।
दीपेन्द्रको टि–२० आई करिअरको दोस्रो अर्धशतक हो । उनले ४६ बलमा अर्धशतक पूरा गरेका थिए । उनले आफ्नो टि–२० आई करिअरको पाँच सय रन पूरा गरेका छन् ।
नेपालले चौथो ओभरमा ओपनर आसिफ शेख र प्रदीप ऐरीलाई गुमाएको थियो । ओपनर आसिफ शेख ११ बलमा २ चौकासहित १४ रनमा क्याच आउट भए । आसिफ कलिमुल्लाहको चौथो ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा शोहिब खानबाट क्याच भएका थिए । १४ बल खेल्दै ४ रन बनाएका प्रदीप ऐरी अन्तिम बलमा विकेटकिपर नसिम खुशीबाट क्याच भएपछि नेपाल २२–२ को कमजोर अवस्थामा पुगेको थियो ।


तेस्रो विकेटका लागि ज्ञानेन्द्र र दीपेन्द्रले ४२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र रन आउट हुनुअघि १६ बलमा १३ रन बनाए । चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रले ४५ रनको साझेदारी गर्दै सहज जित दिलाए । ओमानका कलिमुल्लाहले २ र खवर अलीले १ विकेट लिए ।
खेलको प्लेयर अफ दि म्याच नेपालका दीपेन्द्र घोषित भए । सन्दीपको कप्तानीमा विवेक यादव र सागर ढकालले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टिममा डेब्यु गरे । चार देश सम्मिलित सिरिजमा नेपालले शनिबार युएईसँग खेल्नेछ ।