सवारीको जोर बिजोर हट्यो, विद्यालय फागुन १ बाट खुल्ने

भक्तपुर, माघ २४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेको छ । काठमाण्डौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको संयुक्त बैठकले सोमबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेको हो ।
आदेशमा सोमवारदेखी सवारी साधनमा लगाईएको जोर बिजोर प्राणाली खारेज गरेको जनाएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो ।
जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने प्रजिअ रुद्रादेवी शर्माले जारी आदेशमा उल्लेख गरिएको छ ।
आदेशमा सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी सेनिटाइजर व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई निःसंक्रमित गर्नुपर्ने, मास्क नलगाई आएको अवस्थामा पाँच रुपैयाँमा पाउने गरी मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश दिन नपाईने उल्लेख छ ।
कोभिड संक्रमण बढेपछि माघ ७ बाट लगाइएको जोरबिजोर प्रणाली माघ १४ बाट खुकुलो बनाइएको थियो । तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।
यसैगरी आदेशमा आगामी फागुन १ गतेदेखी विद्यालय सञ्चालन गर्न पाईने जनाएको छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित र नभएका विद्यार्थीको हकमा संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनेको छ । विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्न आदेश दिएको छ । साथै सबै परीक्षाहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ । तर स्वास्थ्यका मापदण्डको पालना गर्न आदेश दिएको छ ।
आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजार र मानिसको भिडभाड हुने कार्य गर्न निषेध गरिएको छ ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर, स्टोर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा ५० जना मात्र र पार्टी प्यालेसमा कुल क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका सय जना मानिस राखेर धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।
फागुन १ देखि सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको छ । तर राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।