नेपाल र मौरिससबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी

भक्तपुर, माघ १५
काठमाण्डौंको दशरथ रंगशालामा जारी नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको पहिलो हापमा दुवै टोलीले केही अवसर बुनेपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
खेलमा नेपालले आक्रमक शुरुवात गरेको थियो । खेलको दोस्रो मिनेटमा नै नेपालले फ्रिकिकको मौका पायो । सुनिल बलको प्रहार डिफ्लेक्ट हुँदै बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । नेपालका केही प्रयासमा मौरिससका गोलरक्षक तथा कप्तान केभिन जित लुइस बाधक बने ।
खेलको १६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्द्र तामाङको ब्लक गरे । ३१औं मिनेटमा सुमन लामाको ३० यार्ड टाढाको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिदा नेपाल पुनः अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिदै नेपालको खतरा टारे ।
खेलको ४५औं मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर गुमाए । लामो दुरीबाट प्राप्त बलमा मौरिससका डिफेन्डरको गल्तीबाट अन्जनले अवसर पाएपनि उनको प्रहार दोस्रो बार च्याप्दै बाहिरिएको थियो ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।