इरान विश्वकपमा छनोट

भक्तपुर, माघ १४
इरान आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलको लागि छनोट भएको छ । गएराती सम्पन्न खेलमा इरान चिरपरिचित प्रतिद्धन्द्धी इराकलाई १–० ले पराजित गर्दै विश्वकप २०२२ मा छनोट हुने पहिलो एसियाली मुलुक बन्न सफल भएको हो ।
समूह ए को खेलमा इरानलाई विश्वकप पुर्याउन खेलको ४८ औं मिनेटमा मेहदी तेरामीले गोल गरे । जितसँगै समूह ए मा इरानको ७ खेलबाट १९ अंक भएको छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको १७ अंक रहेको छ भने तेस्रो स्थानको संयुक्त अरब इमिरेट्सको ९ अंक रहेको छ ।
समूहको शिर्ष दुई स्थानमा रहेका टोली सिधै विश्वकपमा छनोट हुने प्रावधान रहेको छ । जसअनुसार समूहमा बाँकी ३ वटै खेल गुमाएपनि इरान कम्तिमा दोस्रो हुँदैं सिधै विश्वकपका लागि छनोट हुने निश्चित भएको हो ।
इरानको तेहरानस्थित अजिदी स्टेडिएममा सम्पन्न खेलमा करिव १० हजार दर्शकलाई प्रत्यक्ष खेल अवलोकनका लागि प्रवेश दिईएको थियो जहाँ कम्तिमा एक तिहाई इरानी महिला थिए । इरानले विगत ३ वर्षमा पहिलो पटक रंगशालामा महिला समर्थकलाई प्रवेश दिईएको थियो । जहाँ उनीहरुले इरानी टोली विश्वकप पुगेको साक्षी बनेका थिए ।