भक्तपुरमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३६३ पुग्यो

भक्तपुर, माघ १३
भक्तपुरमा बिहिवार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिकाका एक पुरुष हुन । यससँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६३ पुगेको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा कोरोना संक्रमणका कारण हालसम्म २३१ पुरुष र १३२ महिलाको मृत्यु भएको छ । ती मध्ये सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा १०९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७३ पुरुष र ३६ महिला छन ।
त्यस्तै सूर्यविनायक नगरपालिकामा ६८ पुरुष र ४० महिला गरी १०८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो ।
भक्तपुर नगरपालिकामा ५२ पुरुष र ३४ महिला गरी ८६ जनाको मृत्यु हुँदा चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमणका कारण ३८ पुरुष र २२ महिला गरी ६० जनाको मृत्यु भएको मिजारले बताउनुभयो ।
यसैगरी भक्तपुरमा बिहिवार थप ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहिवार २८१ पुरुष र २६२ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ । कोरोना संक्रमणको रेड जोनमा परेको भक्तपुरमा २ हजार ६५४ पुरुष र २ हजार ४६३ गरी ५ हजार ११७ सक्रिय संक्रमित छन । ती मध्ये २० जना सामान्य आइसोलेसन, २ जना आइसीयू र २ जना एचडियूमा गरी कुल २४ जना मात्र संस्थागत आइसोलेसन र अस्पतालमा उपचाररत छन ।