भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

भक्तपुर, माघ १३
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी एवम् भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र सृजना सैंजुबीच बिहिवार भेटवार्ता भएको छ ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नति र १०० शैया क्षमताको अस्पताल सञ्चालन स्वीकृतिको लागि आग्रह गर्नुभयो । उहाँले ख्वप अस्पताललाई स्थानीय तहबाट सञ्चालित देशकै नमुना अस्पतालको रुपमा सञ्चालन गरी जनतको सेवा गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नपाले आवश्यक भौतिक पूर्वाधारको पनि तयारी गरिरहेको अवगत गराउँदैं सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा स्थानीय तहबाट सञ्चालित ख्वप अस्पतालबाट जनताको व्यापक हित हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले ख्वप अस्पताललाई १०० शैयाको स्वीकृति प्रदान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


मुख्यमन्त्री पाण्डेले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा पुनःनिर्माणमा गरिरहेको प्रगति र कार्यहरुबारे अवगत रहेको र नपाका गतिविधिहरु जनतालक्षित भएको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले समाजवादउन्मुख कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै कार्य गर्ने सोचले अगाडि बढिरहेको बताउँदैं बागमती प्रदेशअन्तर्गत उच्च शिक्षा समितिको विधेयक हाल विचाराधीन अवस्थामा रहेको र सो विधेयकमा सक्षम स्थानीय तहले विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्था समेत रहेको प्रष्ट पार्नुभयो ।
टोलीले प्रदेश स्वास्थ्य मन्त्री निमा लामा र स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक नरेन्द्रकुमार झासँग भेटी ख्वप अस्पताल र कोभिड रोकथाम तथा नियन्त्रणमा भएका विविध गतिविधिहरुबारे समेत छलफल गर्नुका साथै ख्वप अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणका लागि तयार पारिएको प्रतिवेदन र स्वमूल्यांकन प्रतिवेदनलगायत अस्पतालका थप शैया स्वीकृतिका लागि आवश्यक कागजातहरु हस्तान्तरण गर्नुभएको थियो ।