भक्तपुरका चार नगरपालिका मध्ये सबैभन्दा धेरै जनसंख्या सूर्यविनायकमा

Bhaktapur District Map

भक्तपुर, माघ १३
भक्तपुरका चार नगरपालिकामध्ये सबै भन्दा धेरै जनसंख्या सूर्यविनायक नगरपालिकामा रहेको छ । राष्ट्रिय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायकमा सबै भन्दा धेरै जनसंख्या देखिएको हो ।
विभागका अनुसार सूर्यविनायकमा १ लाख ३७ हजार ९७१ जनसंख्या पुगेको छ । जसमध्ये ६८ हजार ९७१ पुरुष र ६९ हजार महिला रहेका छन् । मध्यपुर थिमि नगरपालिका धेरै जनसंख्या हुने जिल्लाको दोस्रो नगरपालिका बनेको छ । यहाँ ६० हजार ९५४ पुरुष र ५९ हजार १ महिला गरी कुल एक लाख १९ हजार ९५५ जनसंख्या रहेको छ ।
विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार भक्तपुर नगरपालिकामा ३९ हजार १९० महिला र ३९ हजार ६६४ पुरुष गरी जम्मा ७८ हजार ८५४ जनसंख्या रहेको छ । भक्तपुर नगरपालिका जिल्लामा सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो । त्यस्तै चाँगुनारायण नगरपालिकामा ८८ हजार ६१२ जनसंख्या रहेको छ । ती मध्ये ४४ हजार ७३ पुरुष र ४४ हजार ५ सय ३९ महिला रहेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार भक्तपुरमा एक लाख ८ हजार ४५३ परिवार रहेका छन । ती मध्ये सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ३५ हजार ८८५ परिवार रहेका छन । त्यस्तै भक्तपुर नगरपालिमा १८ हजार ८५४, चाँगुनारायण नगरपालिकामा २१ हजार ९४६ र मध्यपुर थिमि नगरपालिकामा ३१ हजार ७६८ परिवार रहेका छन ।
प्रारम्भिक नतिजा अनुसार भक्तपुरमा ७० हजार ८४९ घर गणना गरिएका छन । ती मध्ये सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा २३ हजार ६३७ रहेका छन भने सबैभन्दा कम भक्तपुर नगरपालिकामा १२ हजार २ सय छन । त्यस्तै चाँगुनारायण नगरपालिकामा १७ हजार ३७३ र मध्यपुर थिमि नगरपालिकामा १७ हजार ६३९ घर गणना गरिएका छन ।
विभागका अनुसार भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ । जसमध्ये २ लाख १७ हजार ९४२ पुरुष र २ लाख १२ हजार ४६६ महिला रहेका छन् । भक्तपुरमा लैगिक अनुपात १०२ दशमलव ५८ रहेको छ । यसैगरी यहाँ परिवारको औसात आकार ३ दशमलब ९७ रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर ३.३२ प्रतिशत रहेको छ ।