प्रविधिको बढ्दो प्रयोगले साइवर क्राइम र लागू औषध दुव्र्यसनीका घटना बृद्धि

भक्तपुर, माघ ५
बागमति प्रदेश युवा परिषदले बाबा वचत तथा ऋण सहकारी संस्था, मध्यपुर थिमिको महिला उपसमितिको सहकार्यमा बुधवार थिमिमा आयोजित साइबर अपराध तथा लागू औषध दुब्र्यसन सम्बन्धी सचेतना कार्यक्रममा सहभागीहरुले ईन्टरनेट र प्रविधिको बढ्दो प्रयोगले साइवर क्राइम र लागू औषध दुव्र्यसनीका घटना पनि बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरेका छन ।
उनीहरुले किशोर किशोरीसँगै वयस्कहरु समेत साइबर अपराध र लागू औषध दुब्र्यसनको कुलतमा परेको बताए । कार्यक्रममा बागमति प्रदेश सभा सांसद शशीजंग थापाले साईबर अपराध तथा लागू औषध दुब्र्यसन सम्बन्धीको अपराध सीमाविहिन अपराधको रुपमा फैलिएको बताउनुभयो । उहाँले साइबर अपराध र लागू औषध दुब्र्यसनको कुलतमा परेका व्यक्ति मात्र नभई उसको परिवार समेतको जीवन बर्बाद हुँदैं गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई यस्ता अपराधबाट बचाउन युवाहरुको व्यक्तित्व विकास, रोजगारी सृजना लगायतका अभियान शुरु गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।


कार्यक्रममा बाबा वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानराम श्रेष्ठले सहकारीले युवा परिषदसँग सहकार्य गरेर युवालाई केन्द्रीत गरी आयोजना गरिएको साइबर अपराध र लागू औषध दुब्र्यसन सम्बन्धी सचेतना कार्यक्रमबाट युवा तथा वयस्क समेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । ‘प्रत्येक घर र टोल छिमेकमा साईबर अपराध गर्ने युवाहरुको संख्या बढ्दै गएको छ । हात हातमा मोबाइलको प्रयोगको सहजता र सुविधा बढेसंगै नजानिदो ढंगले अपराधीकरण पनि बढेको छ । यस्ता कार्यक्रमबाट अपराध न्यूनीकरणमा टेवा पुग्ने छ, उहाँले भन्नुभयो ।
युवा परिषदका सदस्य प्रिती श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्दै गम्भिर अपराध गरेपछि सजायँको भागीदार हुनुपर्ने र परिषदले त्यस्तो अपराध नै नहोस् भनेर सचेतनालाई प्राथमिकता दिइएको बताउनुभयो ।
कार्यक्रममा बाबा साकोस महिला उप समितिका संयोजक सुवर्णलक्ष्मी जोशीले सचेतना कार्यक्रममा सहजकर्ताहरुका विज्ञताबाट सहभागीहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।