पिएम कप टी–ट्वान्टी क्रिकेटमा एपीएफ च्याम्पियन

भक्तपुर, माघ ६
प्रधानमन्त्री कप (पिएम कप) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लव च्याम्पियन बनेको छ । किर्तिपुरस्थित टियु मैदानमा बुधवार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
टस हारेर पहिले व्याटिङ गरेको एपीएफले १९.५ ओभरमा अल आउट हुँदैं १५७ रन बनाएको थियो । १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाए ।
एपीएफको जितमा तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शन गरे । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
दीपेन्द्रले दुई जीवनदान पाएका थिए । भुवन कार्कीको १० औं ओभरको दोस्रो बलमा विकेटकिपर आसिफ शेख स्टम्पिङबाट चुकेका थिए । जुन समय दीपेन्द्र २७ रनमा क्रिजमा थिए । दीपकको १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्रले ३९ रनमा अर्को जीवनदान पाए । एक्स्ट्रा कभरमा अभिनाश बोहराले क्याच ड्रप गरेका थिए ।
पुलिसका लागि दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए । अनिल शाह १० रन आउट हुँदा अमित श्रेष्ठ ३ रनमा आउट भए । राशिद खानले ४ रन जोडे भने पवन सर्राफ सुन्य रनमा आउट भए । गुलशन झा ५ रनमा अविजित रहदा योगेन्द्र सिंह कार्की १ रन अविजित रहे ।
एपीएफका किशोर महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर राउटेलाले १÷१ विकेट लिए । तीव्र गतिका बलर किशोरले पहिलो बलमै ओपनर पवन सरार्फलाई मिडअनमा सन्दीप जोराबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काएका थिए । किशोरकै तेस्रो ओभरको पाँचौं बलमा अर्का ओपनर अमित श्रेष्ठ एज लागेर विकेटकिपर आसिफ शेखबाट ३ रनमा क्याच आउट भए । अमरसिंहले अनिल शाहलाई १० रनमा क्याच गराए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । एपीएफका लागि अमर राउटेलाले सर्वाधिक २९ रन बनाए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे । यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए । किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३÷३ विकेट लिए । गुलशन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए ।
उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ । सेमिफाइनल पुगेका आर्मी र बागमती प्रदेशले ५०÷५० हजार पाएका छन् । पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो ।


आशिफ सर्वोत्कृष्ट
नेपाल एपीएफ क्लबका मोहमद आशिफ शेख पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एपीएफलाई उपाधी दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आशिफले फाइनलसहित ६ खेल खेल्दै उनले २ सय २७ रन बनाए । उनले नगद ३० हजार पुरस्कार पाए ।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पुलिस क्लबका कुशल भुर्तेल चुनिए । भुर्तेलले ४ खेल खेल्दै १ सय ८२ रन जोडेका थिए । यस्तै उत्कृष्ट बलर लुम्बिनीका अनिल खरेल चुनिए । अनिलले ४ खेलमा १० विकेट लिएका थिए । उत्कृष्ट ब्याट्सम्यान र बलरले नगद २०÷२० हजार प्राप्त गरे । विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले पुरस्कृत गरे ।