भक्तपुरमा मास्क नलगाउने १५२ लाई कारवाही

भक्तपुर, माघ ५
भक्तपुरमा मास्क लगाउन अटेर गर्ने १५२ जनालाई बुधवार कारवाही स्वरुप जरिवाना गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको सुरक्षा निकायको टोलीले जिल्ला विभिन्न स्थानमा अनुगमन गरी मास्क नलगाउने सर्वसाधारण, सवारी चालकलगायत १५२ जनालाई कारवाही स्वरुप जरिवाना गरिएको हो ।
टोलीले अनुगमनका क्रममा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम प्रति व्यक्ति एक सय रुपैंया जरिवाना गरिएको प्रजिअ शर्माले बताउनुभयो । दैनिक रुपमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रशासनले ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको मास्क लगाउन अटेर गर्नेहरुलाई एक सय देखी ५ सय रुपैंयासम्म जरिवाना गरिने प्रजिअ शर्माले बताउनुभयो ।


अनुगमनका क्रममा करिव ५ सय सवारी साधनलाई पनि कारवाही गरिएको छ । सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने, चालकले मास्क नलगाउने र यात्रुलाई पनि मास्क लगाउन अभिप्ररित नगर्ने र ट्राफिक नियम उलंघन गरी सवारी साधनलाई कारवाही गरिएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागसहितको टोलीले उपत्यका प्रवेश गर्ने पुर्वी नाका भक्तपुरको साँगा, सूर्यविनायक चोक, राधेराधे चोक, भक्तपुर दरवार स्क्वायर, टौमढीलगायतका स्थान र डिपार्टमेन्टल तथा मार्टहरुमा अनुगमन गरी सवारी चालक, सर्वसाधारणलाई कोरोना संक्रमणबाट बच्न सचेतना प्रदान गरेका थिए ।
सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य राख्नुपर्ने प्रजिअ शर्माले बताउनुभयो । अनुगमनका क्रममा प्रजिअ शर्माले सर्वसाधारणलाई निःशुल्क मास्क समेत वितरण गर्नुभएको थियो । उहाँले असाह्य, अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुलाई करिव ६ सय मास्क वितरण गरिएको जानकारी दिनुभयो ।