जिल्ला प्रशासन कार्यालय भक्तपुरका अत्यावश्यक बाहेकका सेवा बन्द

भक्तपुर, माघ ५
जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । प्रशासनका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बुधवार एक सूचना जारी गर्दै माघ ६ गते बिहिवारदेखी लागु हुने गरी अत्यावश्यक बाहेकका सेवा हाललाई बन्द गरेको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गर्नुभएको सूचनामा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले आइसोलेसनमा रहेको उल्लेख गरिएको छ ।
प्रशासनले शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा बाहेक कर्मचारी तथा सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपी, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी फाँटका सेवाहरु अर्को सूचना जारी नभएसम्म माघ ६ गतेदेखी बन्द गरिएको हो ।
अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुले कोरोना विरुद्धको खोपको मात्रा पुरा लिएको खोप कार्ड (मोवाइलमा फोटो भएपनि हुने) लिएर आउन र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरिएको छ ।