कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सार्वजनिक सेवा प्रभावित

भक्तपुर, माघ ५
कोरोना भाइरसको बढ्दो संक्रमणले भक्तपुरका सार्वजनिक सेवा प्रभावित बन्न थालेको छ । कर्मचारीहरुमा धमाधम कोरोना संक्रमण देखिएपछि भक्तपुरका सरकारी कार्यालय, स्थानीय तह र अस्पतालका सेवा प्रवाहमा असर पर्न थालेको हो ।
संक्रमणका कारण कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा प्रभाव पारेको भक्तपुर अस्पतालका मे सु डा. सुमित्रा गौतमले बताउनुभयो । उहाँले भक्तपुर अस्पतालका २० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । ती मध्ये ६ जना चिकित्सक र १४ जना नर्स रहेको उहाँले बताउनुभयो । अस्पतालमा ननकोभिड बिरामीहरुको अत्याधिक चापका कारण स्वास्थ्यकर्मीहरुको अभाव भएको र अभावको महशुस हुन नदिन कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई समेत ड्युटीमा खटाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
‘अस्पतालको ओपिडिमा बिरामीको अत्याधिक चाप बढेका कारण संक्रमण पुष्टि भएको पाँच दिनपछि लक्षण नभएका संक्रमित स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्नेगरी काममा खटाईएको छ,’ उहाँले भन्नुभयो । भक्तपुर अस्पतालमा केही दिन यता दैनिक ९ सय भन्दा बढी बिरामीमा ओपिडिमा स्वास्थ्य जाँचका लागि आउने गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुलाई पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित कर्मचारी घरमै आइसोलसनमा रहेको र त्यसले गर्दा कार्यालयमा कर्मचारी अभाव भई सेवा प्रवाहमा कमी आएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
राष्ट्रिय परिचय पत्रका कारण जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता लिने र प्रतिलिपि बनाउनेको भिड देखिन्छ । प्रशासनले भिडभाड नियन्त्रण्का लागि केही दिन राष्ट्रिय परिचयपत्रको अभियान स्थगित गर्ने बारे छलफल भइरहेको प्रजिअ शर्माले बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिएपछि वडा कार्यालयहरु बन्द गर्नुपर्ने अवस्था आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बताउनुभयो । मध्यपुर थिमिका नगरप्रमुख स्वयम् कोरोना संक्रमित भई आइसोलेसनमा हुनुहुन्छ ।
त्यस्तै सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतसहित करिव दुई दर्जन कर्मचारीमा संक्रमण देखिएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कँंडेलसहित २२ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । अन्य कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका कारण नगरपालिकाको सेवा अघोषितरुपमा बन्द गरिएको छ ।