एकजुट भएर निर्वाचनको तयारी गर्न नेता सिंहको निर्देशन

भक्तपुर, पुस ३०
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकजुट भएर निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको छ । भक्तपुरको घलातेमा बिहिवार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को कार्यालय उद्घाटन तथा पार्टीको झण्डोत्तोलन कार्यक्रममा नेता सिंहले आगामी राज्यका तीनै तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न अहिले देखी नै कांग्रेस नेता कार्यकर्ताहरुलाई एकजुट भएर निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको हो ।
उहाँले लोकतन्त्र र संविधानको स्थायित्वका लागि पनि आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नुको विकल्प नभएको बताउनुभयो । ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र र संविधान पनि कमजोर हुन्छ भन्ने विगतको के पी शर्मा ओलीको सरकारले प्रमाणित गरेर देखाई सकेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनलाई तपाईहरु अहिलेदेखी नै एकजुट भएर निर्वाचनको तयारीमा लाग्न आग्रह गर्छु,’ उहाँले भन्नुभयो । उहाँले पार्टीको गतिविधि गर्दा कोरोना महामारीमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत आग्रह गर्नुभयो ।


उहाँले मतदाताको भावना अनुसार पार्टीको १४ औं महाधिवेशनको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई सहयोग गरेको बताउनुभयो । नेता सिंहले पहिलो चरणमा मतदाताले नेतृत्व परिवर्तनको ऐजेण्डा नचुराएकाले दोस्रो चरणमा अधिकांश मतदाताको भावना अनुसार देउवालाई सहयोग गरेको स्पष्ट पार्नुभएको हो ।
उहाँले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले दोस्रो कार्यकालमा पहिले तुलनामा पार्टीले राम्रो ढंगले नेतृत्व दिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले पार्टीमा शुरु देखी नै नेतृत्व परिवर्तनको ऐजेण्डा उठाएको थिएँ, तर पहिलो चरणको मतदानमा मेरो ऐजेण्डा रुचाएको पाईन । मलाई कम मत प्राप्त भयो सोही कारण दोस्रो चरणमा धेरै मतदाताको भावना अनुसार सभापतिमा देउवालाई सहयोग गरेको हुँ ।’
उहाँले आफ्नो निर्णय सही भएको जिकिर गर्दै यसमा धेरै टिका टिप्पणीको जरुरी नभएको बताउनुभयो । देउवा स्वयम् घरमै आएर सहयोगको आग्रह गरेकाले पनि आफुले देउवालाई सहयोग गरेको बताउँदैं नेता सिंहले देउवालाई सहयोग गर्नुमा कुनै स्वार्थ र लेनदेनको सहमति नभएको दावी समेत गर्नुभयो ।
उहाँले गणेशमानको छोरा भएकै कारणले पार्टीमा नेतृत्वको दावी नगरेको स्पष्ट पार्दै पार्टीमा आफ्नो पनि योगदान र संघर्ष रहेको बताउनुभयो । ‘म अरु जस्तो राजनीति बाहिर बसेर अन्य पेशा व्यवसाय गरी पछि म त फलानोको छोरा हुँ भन्दै राजनीतिमा आएको मान्छे होइन, म ग्रासरुटदेखी पार्टीमा सक्रिय भई बन्दी जीवनहुँदैं संघर्ष गरी आएको हुँ,‘ उहाँले भन्नुभयो । उहाँले कुनै ठूलो अपराध गरेजस्तै सामाजिक सञ्जालहरुमा आफु विरुद्ध कुप्रचार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले अधिवेशनपछि पार्टी थप उर्जावान बनेको र गुटको अन्त्य भई पार्टी एक भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गर्नुभयो ।


नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले अबको प्रमुख लक्ष्य राज्यका तीन वटै तहको निर्वाचनमा पार्टीलाई जित दिलाउनु रहेको भन्दै त्यसका लागि टोलटोलसम्म संगठन बिस्तारलगायतका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।