भक्तपुरमा ९३ प्रतिशतले कोरोना विरुद्धको खोप लगाए

भक्तपुर, पुस ३०
भक्तपुरमा लक्षित जनसंख्याको ९३ दशमलव ४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन । भक्तपुरमा कुल २ लाख ५० हजार २६१ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा बिहिवारसम्म २ लाख ३४ हजार ३६ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भक्तपुरमा सबैभन्दा बढी सूर्यविनायक नगरपालिकामा कोरोना विरुद्ध खोप लगाएका छन । यहाँ लक्ष्य भन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । सूर्यविनायक नगरपालिकामा ६२ हजार ३६ जनालाई खोप लगाउने लक्ष्य लिएपनि हालसम्म ८१ हजार ७०५ जनाले खोप लगाएको उहाँले बताउनुभयो । जुन निर्धारित लक्ष्यको १३१ दशमलव ७१ प्रतिशत हो ।
त्यसैगरी भक्तपुर नगरपालिकामा ६३ हजार ८५८ जनालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ५१ हजार ८८१ ले खोप लगाएका छन । जुन ८१ दशमलव २४ प्रतिशत हो ।
चाँगुनारायण नगरपालिकामा ८४ दशमलव ३३ प्रतिशतले खोप लगाएका छन । यहाँ ४९ हजार ६९४ जनालाई खोप दिने लक्ष्य लिएकोमा ४१ हजार ९०९ जनाले खोप लिएका छन ।
मध्यपुर थिमि नगरपालिकामा ५८ हजार ५४१ जनाले खोप लगाएका छन, जुन निर्धारित लक्ष्यकाृ ७८ दशमलव ४ प्रतिशत हो । यहाँ ६४ हजार ६७३ जनालाई खोप दिने लक्ष्य रहेको छ ।
भक्तपुरमा खोप लगाउनेको संख्या ९३ प्रतिशत पुगेपनि अझैं धेरै जनसंख्या खोपको पहुँच बाहिर रहेको मिजारले जानकारी दिनुभयो । भक्तपुरमा राष्ट्रिय जनगणना २०६८ को जनसंख्यालाई आधार बनाई खोप लगाउनुपर्ने संख्या निर्धारण गरिएको र २०६८ यता बसाईसराई र अस्थायी बासिन्दाको चाप बढेकाले खोप लगाउनुपर्नेको संख्या बृद्धि भएकाले अभैm धेरै जनसंख्या खोप लगाउन बाँकी रहेको उहाँले बताउनुभयो ।