भक्तपुर इन्टरनेशनल हस्पिटलको लक्ष्य तीन वर्षमा एक सय शैया

भक्तपुर, पुस २६
भक्तपुर इन्टरनेशनल हस्पिटलले तीन वर्ष भित्र सेवा बिस्तार गरी एक सय शैयाको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको छ । हस्पिटलको पहिलो साधारण सभामा अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले तीन वर्षमा अस्पताललाई एक सय शैयामा बिस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभएको हो ।
सभामा उहाँले भक्तपुरको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न भक्तपुर इन्टरनेशनल जुटेको बताउनुभयो । अस्पताललाई मुटु, हाडजोर्नी तथा नसा रोगको हब अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताउँदैं उहाँले अस्पतालमा छिटै नै डाइलासिस सेवा समेत बिस्तार गरिने जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले अनाथ असाहाय गरिबको लागि बिशेष छुट दिइदै आएकोमा यसको दायरा अझै बढाउदै सबैमा स्वास्थ्य पहुँच पु¥याउन निःशुल्क सेवा पनि दिइदै आएको बताउनुभयो ।
सभामा मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले अरनिको राजमार्गमा उत्कृष्ट अस्पतालहरुको खाँचो भएको बताउँदै भक्तपुरमा नै सम्पूर्ण सेवा दिन सक्ने अस्पताल भए भक्तपुर लगायत पूर्वी भेगका बिरामीहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नंम्वर ३ का वडा अध्यक्ष प्रेम बहादुर कुटु, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका उपसभापति राकेश थापा, मध्यपुर थिमि स्वास्थ्य सयोजक तथा प्रशासन प्रमुख केशव सिलवाल लगायतले अस्पताल नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्नेमा जोड दिनुभएको थियो ।