मध्यपुर थिमिमा हुने राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको तयारी पुरा

भक्तपुर, पुस २६
२४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भोली (मंगलवार)देखी मध्यपुर थिमिमा शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ले जानकारी दिए ।
प्रतियोगिताका लागि खेलाडी आउने क्रम जारी रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘८० प्रतिशत खेलाडी आईसके । केही आउनेक्रम जारी छ । मंगलवार बिहानसम्म सबै खेलाडी आइपुग्छन,’ उनले भने ।
तीन दिन सञ्चालन हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष÷महिला, युथ पुरुष÷महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुनेछ । त्यस्तै युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुने संघका अध्यक्ष राम श्रेष्ठ बोसले जानकारी दिए ।
त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी मार्थिको तौल समूहका खेलहरु हुनेछ ।
प्रतियोगितामा विभिन्न जिल्ला र विभागीय गरी कुल २३ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० सहित कुल १८० पदकको लागि प्रतिष्पर्धा हुनेछ ।