भक्तपुरमा मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने

भक्तपुर, पुस २५
जिल्ला प्रशासन कार्यालयले मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै आउन सक्ने विपतलाई न्यूनिकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको आइतवार बसेको बैठकले मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।
बैठकले मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । त्यस्तै सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाई गर्ने, घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय भएको छ ।
बैठकले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई समेत प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । १२ वर्ष वा सो भन्दा माथिका स्थानीय तहका लक्षित समूह, पहिलो र दोस्रो खोपको मात्रा नलगाएकाहरुको विष्लेषण गरी आवश्यक मात्रामा खोप केन्द्रको व्यवस्था गर्ने र खोपको प्रचार प्रसारलाई तिव्रता दिने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो ।
जनप्रतिनिधि र सुरक्षा निकायको सहयोग र समन्वयमा खोप अभियानलाई प्रभावकारी बनाई पूर्ण खोपको सुनिश्चितता गराउन सहजीकरण गर्ने, खोपको पहुँच र कभरेज बृद्धिका लागि शिक्षा समन्वय इकाई, प्याव्सन र एन प्याव्सन मार्फत निरन्तर प्रचार प्रसार र सहयोग गर्ने निर्णय भएको छ ।
यस्तै सम्पूर्ण सार्वजनिक निकायमा आउने सेवाग्राहीलाई खोप लगाउन प्रोत्साहित गर्ने, यसको सूचना स्वास्थ्य कार्यालयले तयार गरी सबै कार्यालयहरुमा पठाउने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो ।
सबै सरकारी अस्पताल, नियमित खोप सञ्चालन गर्न सुचिकृत गैरसरकारी अस्पताल, नीजि अस्पताल र घना बस्ती रहेका क्षेत्रमा नियमित खोप केन्द्र तोकी नियमित खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
बैठकले संक्रमणका कारण अस्पतालहरुमा आउन सक्ने बिरामीको चापलाई समेत ध्यानमा राखी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बैठकले जिल्लाका सबै सरकारी र नीजि अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने, अक्सिजन तथा आवश्यक सामग्रीको आवश्यक मात्रामा भण्डारण गर्ने, स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
बैठकले जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाका हटस्पट पहिचान गरी राजनैतिक दल र जनप्रतिनिधिहरुसँग आवश्यक समन्वय गरी परीक्षणलाई बढाउने निर्णय गरेको छ ।
भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर चेम्बर अफ कमर्शको सहयोग र समन्वयमा व्यक्तिगतरुपमा प्रयोग भएका र स्टक रहेका ग्यास सिलिण्डरहरु सम्बन्धीत उद्योगमा फिर्ता गर्न पहल गर्ने, जिल्लाका सिमा नाकामा सुरक्षा निकायले कडाईका साथ जाँच गर्ने निर्णय समेत बैठकले गरेको प्रजिअ शर्माले बताउनुभयो ।
भक्तपुरमा हाल १४० सक्रिय संक्रमित रहेका छन । जसमध्ये ५ पुरुष र एक महिला अस्पतालमा उपचाररत छन । यहाँ ७२ हजार ६६१ जनाको परीक्षण गरिएकोमा १६ हजार ४४६ पुरुष र १४ हजार १६ जना महिलासहित ३० हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा कोरोना संक्रमणका कारण १३२ महिला र २२४ पुरुष गरी कुल ३५६ जनाको मृत्यु भइसकेको छ ।
भक्तपुरमा पछिल्ला केही दिन यता दैनिक संक्रमण दर बृद्धि भइरहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । मंसिर अन्तिम साता संक्रमण दर ४ प्रतिशत रहेको भक्तपुरमा पुसको पहिलो साता १०, दोस्रो साता १५, तेस्रो साता २० र शनिवार २८ प्रतिशत संक्रमण दर रहेको भक्तपुर अस्पतालका मेसु डा. सुमित्रा गौतमले बताउनुभयो ।