एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः देउजा

भक्तपुर, पुस २४
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन हुनुभएको छ । एमालेको शनिवार सम्पन्न आठौं जिल्ला अधिवेशनले देउजालाई पुनः अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनको बन्द सत्रले जिल्ला उपाध्यक्षमा बासुदेव थापालाई चयन गरेको छ । थापा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख समेत हुनुहुन्छ । थापा यसअघि सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
त्यस्तै सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल सर्वसम्मत चयन हुनुभएको छ । सुवाल नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल निकटका हुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरणसँगै स्थापना भएको नेकपाको विघटनपछि थापासँगै सुवालपनि एमालेमै रहनुभएको हो ।
अधिवेशनले नेकपा एमालेको १०५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिनुभयो ।