साःफु, भक्तपुरद्धारा सिन्धुपाल्चोकमा पुस्तकालय स्थापनाकालागि पुस्तक हस्तान्तरण

भक्तपुर, पुस २४
साःफु भक्तपुरले सिन्धुपाल्चोक पाटीभञ्ज्याङ्गस्थित श्री ठूलो थकनी माध्यामिक विद्यालयमा पुस्तकालय स्थापनाको लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालय प्रांगणमा शुक्रवार आयोजित कार्यक्रममा साःफु भक्तपुरले विद्यालयलाई एक हजार ४० थान पुस्तक हस्तान्तरण गरेको हो ।
पुस्तक हस्तान्तरण गर्दै साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएको बताउनुभयो । उहाँले किताबबाट ज्ञान बृद्धि गर्न सहयोग गर्ने विश्वास गर्दै साःफुले प्रदान गरेका पुस्तकहरुले विद्यार्थीहरु एवं शिक्षकवर्गलाई पनि सहायता हुने आशा व्यक्त गर्नुभयो ।
साःफुका सचिव श्यामसुन्दर श्रेष्ठले पुस्तक संकलन कार्य र प्रक्रियावारे जानकारी दिँदैं विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्ने सबैको प्रशंसा एवम आभार प्रकट गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले विद्यालयमा पुस्तकालय स्थापनाका लागि साःफुले उपलब्ध गराएका पुस्तकले पाटीभञ्ज्याङ्गमा ज्ञानको उज्यालो छर्न सहयोग पुग्ने बताउनुभयो ।