संस्कृतिको संरक्षण गर्नुको सबैको कर्तव्य – मन्त्री भँडेल

भक्तपुर, पुस २४
बागमति प्रदेशका भौतिक पूर्वाधार विकास तथा योजना मन्त्री कृष्णलाल भँडेलले कला संस्कृति र सम्पदाहरुको निर्माणसँगै संरक्षणगरी जोगाउनु सबैको परम कर्तव्य भएको बताउनुभएको छ । श्री शिव सरस्वती सेवा समितिले सूर्यविनायक नगरपालिका ३ र ४ को सिमानामा अवस्थित शिव सरस्वती मन्दिरमा शुरु गरेको सन्ध्याकालिन आरतीको प्रथम वार्षिकोत्सवको अवसरमा मन्त्री भँडेलले संस्कृतिको संरक्षण गर्न सके मात्र जीवनले सार्थकता पाउने बताउनुभयो ।
उहाँले संस्कृति र सम्पदा पुर्खाले आर्जेको सम्पत्ति भएकाले यसको संरक्षण गरी नयाँ पिढिँलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रा सम्पदा हाम्रा परम पुज्यहरुले आर्जेको सम्पत्ति हो, त्यो सम्पत्तिलाई त्यो संस्कृतिलाई सबैले संरक्षण गरी हाम्रा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘धर्ममा आस्था र विश्वास राख्नेहरुले संस्कृति, सम्पदा मठमन्दिर, पाटी पौवाको निर्माण मात्र होइन संरक्षण गरी अघि बढ्ने हो भने मात्र यसको सार्थकता रहन्छ ।’
उहाँले राष्ट्र निर्माणको दायित्व सबैको भए पनि सत्तामा बस्नेको अलि बढी जिम्मेवारी रहने बताउँदैं प्रदेश सरकारको साधन स्रोतले भ्याएसम्म विकास निर्माण सँगसँगै संस्कृति र सम्पदाहरुको संरक्षणमा पनि जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् स्थानीय समाजसेवी विष्णुराज कार्कीले धर्म र संस्कृतिले मानवलाई सही र सत्मार्गमा हिँड्ने उत्प्रेरित गर्ने भएकाले नयाँ पुस्तालाई पनि धर्म संस्कृतिका कार्यमा संलग्न गराउँदैं लानुपर्ने बताउनुभयो ।
समितिका अध्यक्ष कृष्ण खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भजन गुरुहरुबाट भजन गाउनुका साथै आरती गरिएको थियो ।