नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत

भक्तपुर, पुस २३
भक्तपुरका दुई पत्रकार पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसको अवसरमा पत्रकारहरू बाबाुकाजी साछेँ श्रेष्ठ र मोहन बल्ल पुरस्कृत हुनुभएको हो ।
महासंघले श्रेष्ठलाई १० हजार नगद राशीको स्व. भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार र बल्ललाई २ हजार ५ सय रुपैंया नगद राशीको स्व. मैंयादेवी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
उहाँहरूलाई नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सचिव नारायण सुन्दर किलम्बु र पुरस्कारका संस्थापकहरूले संयुक्तरुपमा सम्मान गर्नुभएको थियो ।


सो अवसरमा सम्मानित श्रेष्ठले पुरस्कारबाट आफू हौसिएको बताउँदै आफ्नो पत्रकारिताको पृष्ठभूमिबारे जानकारी गराउनुभयो । उहाँले पत्रकारितालाई मर्यादित र विश्वसनिय बनाउन सबै पत्रकारहरुले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पत्रकार महांसंघको भवन निर्माणका लागि २५ हजार रुपैंया आर्थिक सहयोेग गर्ने घोषणा समेत गर्नुभयो । त्यस्तै अर्का पुरस्कृत व्यक्तित्व मोहन बल्लले पनि पुरस्कार वापतको रकम महासंघको भवन निर्माणको लागि शाखा अध्यक्ष प्रजापतिलाई हस्तान्तरण गर्नुभयो ।


कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा निरन्तर सक्रियताको जरूरी रहेको बताउनुभयो । उहाँले पत्रकारितामार्फत सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने भएकाले पत्रकारहरूको क्षमता विकासका लागि महासंघले आमसंचार प्रतिष्ठानको अवधारणा अघि सारेको बताउनुभयो । उहाँले सरकारले पत्रकारितालाई संकुचन गर्न खोज्दा सञ्चारकर्मीहरू दोहोरो मारमा पर्दै गएको उल्लेख गर्दै त्यस निम्ति थप खबरदारी जरूरी रहेकोमा जोड दिनुभयो ।


प्रेस रजिस्ट्रार कार्यालय बागमती प्रदेशका रजिस्ट्रार रेवती सापकोटाले बागमती प्रदेशमा प्रेसको अवस्थाबारे जानकारी दिँदैं बागमती प्रदेशमा कार्यरत पत्रकारहरूको क्षमता अभिबृद्धिका लागि पहल गरिएको बताउनुभयो । उहाँले सूचना प्रविधिले व्यक्तिलाई ग्लोबल बनाइसकेको बताउँदै अनलाइन पत्रकारले आफूलाई ग्लोबल पत्रकारको रूपमा लिएर पत्रकारिता गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।


भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले पत्रकारसँग सहकार्य गरि भक्तपुरलाई समृद्ध बनाउन हातेमालो गर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका सचिव नारायण किलम्बुले भक्तपुरको विकासमा पत्रकारहरूले खेलेको भूमिकाबारे चर्चा गर्दै अझ पनि भक्तपुरका पत्रकारहरूको सपना साकार हुन बाँकी रहेको बताउनुभयो । उहाँले पत्रकार माझ थपिएको चुनौतीलाई डटेर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासंघ उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले उपत्यका प्रदेशलाई केन्द्रीय समित र प्रेस रजिस्ट्रारको कार्यालयले बेवास्ता गरेको गुनासो गर्नुभयो । केन्द्रीय सदस्य शान्तराम बिडारीले समस्या र चुनौतिबीच अघि बढ्नुको विकल्प नभएको चर्चा गर्दै पत्रकार महासंघ केन्द्रीय समितिका सदस्यलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारको स्वास्थ्य सुरक्षाका आफूले पहल गर्ने बताउनुभयो ।


सो क्रममा महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्काले भक्तपुर पत्रकार महासंघ स्थापनाको पृष्ठभूमिबारे जानकारी दिँदै भक्तपुरमा पत्रकारिता फस्टाउँदै गएको बताउनुभयो । उहाँले भक्तपुरको पत्रकारिता उत्कृष्ट तवरले अघि बढेकोमा आफू गौरवान्वित भएको बताउनुभयो ।
महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले शाखाको गतिविधि प्रस्तुत गर्दै पत्रकारहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै भक्तपुर अस्पतालमा पत्रकारहरुलाई निःशुल्क उपचारको व्यवस्था, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क मिर्गौेला परिक्षणको व्यवस्थाका लागि छलफल अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यसैगरी उहाँले शाखाको भवन निर्माणको लागि प्रक्रिया शुरु भएको बताउनुभयो ।


कार्यक्रममा महासंघका सचिव गोविन्द चौंलागाईं, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशकी उपाध्यक्ष रोजिना थापा, महासंघ भक्तपुरका उपाध्यक्ष लिला श्रेष्ठ, सचिव संजीप घिमिरेलगायतले पत्रकारको पेशागत हकहितका लागि एक भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा महासंघ भक्तपुर शाखाको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गर्ने र महासंघको संस्थागत विकासमा सहयोग गर्नेहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।


यसैगरी भक्तपुरका महिला पत्रकारहरुको प्रोत्साहनका लागि प्रत्येक वर्ष प्रदान गर्ने गरी लक्ष्मीभक्त शिल्पकार महिला पत्रकारिता पुरस्कारका लागि दाता लक्ष्मीभक्त शिल्पकारले नगद २५ हजार शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई हस्तान्तरण गर्नुभएको थियो ।