एमालेविरुद्ध न्यायलयसहित ६ दलिय गठबन्धन ः वरिष्ठ उपाध्यक्ष पोखरेल

भक्तपुर, पुस २३
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको विरुद्ध न्यायलयसहित ६ दलको गठबन्धन बनेको बताउनुभएको छ । नेकपा एमाले भक्तपुरको जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीको सरकार हटाउन पाँच दलिय गठबन्धनले नसक्ने अवस्था आएपछि न्यायलयसहितको गठबन्धन गरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अहिले देशमा ६ दलिय गठबन्धनको सरकार छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनमोर्चा, जनता समाजवादी पार्टीसहित न्यायालय पनि अर्को दलका रुपमा रहेको छ ।’
उहाँले देउवा सरकार नेपाली जनताको सर्वभौमिकता रक्षा गर्न असफल भएको बताउनुभयो । ‘भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिक जयसिंह धामीको हत्या हुँदा समेत सरकारले कुनै प्रतिक्रिया दिन नसक्नु राष्ट्रियता र सर्वभौमिकता कमजोर हुनु हो,’ उहाँले भन्नुभयो ।
उहाँले केपी ओलीको सरकारले ल्याएका विकासका योजनाहरु काटेर गठबन्धन सरकारले जनविरोधी काम गरेको आरोप समेत लगाउनुभयो । पार्टीको जिल्ला अधिवेशनमा विगतका गल्ती कमि कमजोरीको समिक्षा गर्दै अगाडि बढन उहाँले कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुरका तीन स्थानीय तह, तीन प्रदेशसभा निर्वाचन क्षेत्रका साथै क्षेत्र नम्वर दुईमा आफ्नो पार्टीले पुनः निर्वाचन जित्ने दावी गर्नुभयो । उहाँले भक्तपुरको क्षेत्र नं. १ पनि बलियो शक्तिका रुपमा नेकपा एमाले उदाउने र भक्तपुर नगरपालिकाका केही वडामा जित्न आफूहरु सक्षम भएको बताउनुभयो । उहाँले भक्तपुरमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न एकजुट हुनुको विकल्प नभएको समेत प्रष्ट पार्नुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले कार्यकर्ताहरुलाई एकजुट हुन आह्वान गर्दै एमालेको नेतृत्वमा भएका विकास निर्माणको प्रभावले भक्तपुरमा पुनः पहिलो शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष वचन देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव बासुदेव थापालगायतले अधिवेशनले बलियो नेतृत्व चयन गरी निर्वाचनमा सशक्त ढंगले प्रस्तुत हुने उद्घोष गर्नुभयो । अधिवेशन आइतवार नयाँ नेतृत्व चयन गरी समापन हुने जनाएको छ ।