केएमसी कलेज दुवाकोटमा शिक्षा मन्त्री पौडेलको अनुगमन, विवाद समाधानमा प्रजिअको अग्रसरता

भक्तपुर, पुस २२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाण्डौं मेडिकल कलेज (केएमसी), दुवाकोटलाई चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिनुभएको छ ।
केएमसीमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरी आन्दोलन चकार्एपछि बिहिवार अनुगमनका लागि आउनुभएका मन्त्री पौडेलले कलेजलाई शुल्कका सम्बन्धमा शुक्रवारसम्म प्रतिवेदन पेश गर्न निर्देशन दिँदैं बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिनुभएको हो ।
उहाँले तोकिएभन्दा बढी शुल्क लिएको पाईएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो । ‘चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले कलेज सञ्चालकले बढी शुल्क लिन पाउँदैन । यदी लिएको पाईए कानुन अनुसार कारवाही हुन्छ,’ मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई भन्नुभयो, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ ।’
सो अवसरमा कलेजका प्रिन्सिपल श्रेष्ठले अतिरिक्त शुल्क नलिएको दावी गर्नुभयो । उहाँले मेडिकल कलेजले स्वतः होस्टल राख्नुपर्ने बाध्यकारी नियमका अनुसार नै आफूहरुले कलेजमा होस्टलको ब्यवस्था गरेको र सो को शुल्क लिएको दावी गर्नुभयो । ‘विद्यार्थीको सुविधाका लागि राखिएको होस्टल उनीहरुलाई नै नचाहिने हो र मेडिकल काउन्सिलले पनि नराख भन्ने हो भने होस्टल हटाउन तयार छौं,’ उहाँले भन्नुभयो । कलेजमा अनावश्यक रुपमा बखेडा खडा गर्दै विद्यार्थीले आन्दोलन गर्नु अनुपयुक्त भएको श्रेष्ठले शिक्षा मन्त्रीलाई बताउनुभएको थियो ।
‘कलेजले हाल कति शुल्क लिने गरेको छ, कति शुल्क लाग्ने हो भनी सम्झौता पत्र तथा कलेजको वेवसाईडमा नै स्पस्ट रुपमा प्रकाशित गरेको छौं । यो भन्दा बढी शुल्क हामीले लिएको छैन । छ भने आफूहरु तत्काल कजेज बन्द गर्न पनि तयार छौं,’ उहाँले भन्नुभयो ।
यसैबीच केएमसीको शुल्क विवाद र विद्यार्थीहरुको आन्दोलनका बारेमा शुक्रवार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुको वार्ता हुने भएको छ । दुवाकोटस्थित कलेजमा शिक्षा मन्त्री देवेन्द्र पौडेलसँगै अनुगमनका लागि पुग्नु भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरोकारवालाहरुलाई शुक्रवार वार्ताका लागि बोलाउनुभएको हो ।
‘केएमसी कलेजमा जारी विद्यार्थीहरुको आन्दोलन र शुल्क विवादका विषयमा विद्यार्थी, अभिभावक र कलेजका प्रतिनिधिहरुलाई शुक्रवार वार्ताका लागि बोलाएका छौं,’ उहाँले भन्नुभयो ।