महाधिवेशनले कांग्रेसलाई एकतावद्ध बनायो — केन्द्रीय सदस्य श्रेष्ठ

भक्तपुर, पुस १७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले महाधिवेशनले कांग्रेसलाई एकतावद्ध बनाएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रवार आयोजित जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण र चियापान कार्यक्रममा केन्द्रीय सदस्य श्रेष्ठले महाधिवेशनपछि गुट अन्त्य भई पार्टी एकतावद्ध भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘पार्टीमा महाधिवेशनपछि यो वा त्यो गुट भन्ने बाँकी छैन । सबै समूहबाट पदाधिकारीमा निर्वाचित भएका छन । अहिले पार्टी एकतावद्ध भएको छ ।’ उहाँले पार्टीको गतिविधि निर्वाचनमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । ‘बैशाखमा स्थानीय तहको निर्वाचन आउँदैछ । डेढवर्ष पछि प्रदेश र संघीय संसदको निर्वाचन हुँदैछ । पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्छ,’ उहाँले भन्नुभयो ।


भक्तपुरमा पार्टी बलियो हुँदा हुँदैं केही प्राविधिक कमजोरीका कारण विगतमा निर्वाचनमा पराजित हुनुपरेको उल्लेख गर्दै नेता श्रेष्ठले कांग्रेस एक ढिक्का भए कांग्रेसलाई हराउन सक्ने ताकत कसैसँग नरहेको जिकिर गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य रमा कोइराला पौडेलले अधिवेशनको गुटलाई भुलेर एकतावद्ध भएर कांग्रेस अघि बढ्नुपर्ने बताउनुभयो । ‘अधिवेशनमा हामी कोही कुन गुटमा कोही कुन गुटमा आवद्ध भएर पार्टीको नेतृत्वको लागि आन्तरिक प्रतिगपर्धा ग¥यौं । अधिवेशनपछि हामी सबै कांग्रेसको चारतारे झण्डा र रुख चिह्नमुनी गोलवद्ध भएका छौं,’ उहाँले भन्नुभयो । उहाँले कम्युनिष्टहरुको उग्रवादलाई अबको निर्वाचनबाट किनारा लगाउन पनि कांग्रेस एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
त्यस्तै केन्द्रीय सदस्य गंगालक्ष्मी अवालले कांग्रेसमा महिला, युवा र विभिन्न समावेशी समूहको बलियो उपस्थितीले कांग्रेस समावेशी र बलियो संगठनको रुपमा स्थापित भएको बताउनुभयो ।


जिल्ला सभापति दुर्लभ थापाले कांग्रेसको १४ औं महाधिवेशन भक्तपुर कांग्रेसलाई केन्द्रसँग जोड्ने सेतुको रुपमा स्थापित भएको बताउनुभयो । ‘भक्तपुरले ऐतिहासिक रुपमा तीन जना केन्द्रीय सदस्य पाएको छ । त्यो पनि निर्वाचन मार्फत, यो भक्तपुरलाई कांग्रेसको केन्द्रको पहुँचमा पु¥याउने ऐतिहासिक सफलता हो,’ उहाँले भन्नुभयो । उहाँले आगामी निर्वाचनमा कामको आधारमा मुल्यांकन गरी उम्मेदवार बनाईने प्रतिवद्धता व्यक्त गर्दै ईमान्दारीपूर्वक निष्ठापूर्वक पार्टीमा योगदान गरेकाहरुको मूल्यांकन हुँदै जाने बताउनुभयो । ‘यो वा त्यो समूह नभई पार्टीमा ईमान्दार र निष्ठापूर्वक गरेको योगदानको आधारमा पार्टीले मुल्यांकन गर्नेछ,’ उहाँले भन्नुभयो ।
उहाँले अधिवेशनमा सबै निर्वाचित भएर आएकोले जिल्लामा पार्टीभित्र कुनै गुट भन्दा पनि सामुहिकताको विकास गरेको बताउनुभयो । उहाँले पार्टीमा सबैले अनुशासित भएस संगठन बिस्तारमा लाग्नुपर्ने खाँचौं औंल्याउँदैं जिल्ला सभापतिका प्रतिष्पर्धी अष्ट कवेसँग पनि सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।
उहाँले राज्यको पैसामा विकासको नाममा कमिसन खाने दलालहरुको कांग्रेसले छिट्टै भण्डाफोर गर्ने उद्घोष गर्नुभयो । ‘भक्तपुरमा कोही कोही मै हुँ भन्ने विकासवादी नेताहरु छन, कसरी विकास गरेका रहेछन त्यसको हिसावकिताव सार्वजनिक हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले आगामी निर्वाचनमा कांग्रेसलाई कसैले हराउन नसक्ने दावी समेत गर्नुभयो । ‘यहाँ कांग्रेस सिध्याउने कुरा गर्दै हिँडेको सुनेको छु । कांग्रेसलाई हराउँछु र सिध्याउँछु भन्ने कसैले दिवासपना नदेखे हुन्छ,’ उहाँले भन्नुभयो ।


बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले कांग्रेसको सक्रियता र गतिविधिले विपक्षी तिलमिलाउन थालेको बताउनुभयो । ‘कांग्रेसको अधिवेशनदेखीको सक्रियता र बढ्दो माहोलले प्रतिपक्षी आत्तिन थालेका छन,’ उहाँले भन्नुभयो । उहाँले कांग्रेस एक ढिक्का भए आगामी निर्वाचनमा कांग्रेसलाई हराउने ताकत सकैसँग नभएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका लागि कांग्रेसको केन्द्रीय निर्वाचन प्रतिनिधि वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले निर्वाचित जिल्ला कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।