भक्तपुरका चार कार्यालयका २५ जना कर्मचारी छड्केमा

भक्तपुर, पुस १६
भक्तपुरका चार वटा सेवाग्राही कार्यालयका २५ जना कर्मचारी हाजिरी छड्केमा परेका छन । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वले शुक्रवार जिल्लाको भुमिसुधार तथा मालपोत, नापी, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा गरिएको हाजिरी छड्केमा २५ जना कर्मचारी कार्यालय समयमा अनुपस्थित भएको पाईएको हो ।
छड्केमा मालपोतका ७, नापीका २, विद्युत प्राधिकरणका १२ र टेलिकमका ४ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए । कार्यालय समयमा अनुपस्थित कर्मचारीहरुलाई अनुपस्थित हुनाको कारणसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिईएको सहायक प्रजिअ परियारले बताउनुभयो ।
टोलीले कार्यालयले प्रवाह गर्ने सेवा, प्रभावकारिता, कर्मचारीको कार्यालयमा नियमितता, कार्यालयको पोशाक, अभिलेख व्यवस्थापन, कार्यालयमा काम नलाग्ने सामग्रीको लिलामी, कार्यालय सरसफाइ लगायतका विषयमा अनुगमन तथा मूल्यांकन गरी आवश्यक निर्देशन दिएको थियो ।
यस्तै भुमि सुधार तथा मालपोत कार्यालयले भू–सेवा केन्द्र मार्फत गर्दै आएको कामलाई व्यस्थित गर्न नियमितरुपमा केन्द्रको अनुगमन, सम्झौता गरेका भू–सेवा केन्द्रले मात्र सेवा प्रवाह गर्न निर्देशन दिईएको सहायक प्रजिअ परियारले बताउनुभयो ।
भू–सेवा केन्द्रले सेवाग्राहीसँग लिने सेवा शुल्कमा एकरुपकता नभएको पाईएकोले कामको प्रकृति हेरी सेवा शुल्क एकिन गरी सेवाग्राहीलाई नगदी रसिद दिने व्यवस्था गर्न भूमि सुधार मालपोत कार्यालयललाई निर्देशन दिईएको छ । अनुगमनका क्रममा सेवाग्रहीले भू सेवा केन्द्रको सेवामा ३ हजार देखी १० हजारसम्म लिने गरेको गुनासो गरेका थिए ।