कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैं, भक्तपुरमा चियापान हुने

भक्तपुर, पुस १६
नेपाली कांग्रेसले आज पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैं छ । कांग्रेसले आफ्ना संस्थापक नेता प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका नेताहरू करिव ८ वर्षको निर्वासन पछि मेलमिलापको नीति लिएर नेपाल फर्केको दिन वि. सं. २०३३ पुस १६ गतेको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैं आएको हो ।
तत्कालिन राजा महेन्द्रले विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकार बर्खास्त गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए । महेन्द्रले सेनाको बलमा बिपीसहितका नेताहरुलाई बन्दी बनाएका थिए । करिव ८ वर्षपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय दबाबका कारण २०२५ कात्तिक १४ गते बिपी कोइरालालगायतका नेता जेलमुक्त भए । त्यसपछि उनीहरू भारतमा निर्वासनमा गए ।
देशद्रोहको मुद्दा लागेका कांग्रेस नेताहरुले भारतमा निर्वासन गएपनि नेपालमा प्रजातन्त्र प्राप्तीका लागि क्रान्ति गरिरहे । हतियारसहित सशस्त्र विद्रोह समेत गरे, तर सफल हुन सकेन । यही बीचमा भारतका प्रधानमन्त्री ईन्दिरा गान्धीको गतिविधिले नेपालको राष्ट्रियता खतरामा परेको आंकलन गर्दै बिपीलगायतका कांग्रेसका नेताहरु ‘प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ’ भन्ने उक्तिसँगै नेपाल फर्किए । नेताहरुलाई स्वागत गर्न कांग्रेसका नेता, कार्यकर्ता र हजारौं सर्वसाधारण विमानस्थल गौचरण पुगेका थिए ।
कांग्रेसका संस्थापक जननायक बिपी कोइरालासहित लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका दर्जनौँ नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उहाँहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए । तर तत्कालिन पञ्चायती सरकारले बिपीलाई पक्राउ गरी सुन्दरीजल जेलमा बन्दी बनाएर राखे । बिपी नेपाल फर्किंदा फाँसीको सजाय हुन सक्नेसम्मका विभिन्न आठ मुद्दा लगाइएको थियो ।

मुलुकको विषम परिस्थितिलाई बुझेर नै बिपीले आफ्नो ज्यानभन्दा देश ठूलो हो भन्ने महसुस गरी राष्ट्र बचाउन नेपाल फर्किँदा लिएको नीति नै कांग्रेसले राष्ट्रिय मेलमिलाप नीतिको रुपमा मनाउँदैं आएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेस भक्तपुरले आज शुक्रवार चियापान कार्यक्रम आयोजना गर्दैछ । सल्लाघारीस्थित नमस्ते बैंक्वेटमा आयोजना गरिएको चियापान दिउँसो १ बजे शुरु हुने नेपाली कांग्रेस भक्तपुरका सचिव सुशिल बस्नेतले जानकारी दिनुभयो ।