भक्तपुर नगरपालिकाका महिला स्वयम् सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण

भक्तपुर, पुस १५
भक्तपुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण गरेको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा बिहिवार भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण गरेको हो ।
सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले आर्युवेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको नेपालको मौलिक चिकित्सा पद्धति भएको बताउँदैं यसको प्रर्वद्धनको लागि नगरपालिकाले वडास्तरीय नागरिक आरोग्य केन्द्र सञ्चालन गरी निःशुल्क रुपमा आर्युवेदिक औषधिहरु वितरण गरिरहेको जानकारी दिनुभयो ।
आर्युवेद स्वास्थ्यलाई राज्यले आफ्नो प्राथमिकतामा नराखेको गुनासो गर्दै नगरप्रमुख प्रजापतिले राज्यबाट सिंहदरबारको वैद्यखाना र नरदेवी अस्पतालको संरक्षण गरी टोलटोलमै आर्युवेद केन्द्रहरु स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले रामदेव जस्ता व्यापारीले नेपालका जडिबुटीमा नियन्त्रण कायम गर्न अनेक चलखेल गरिरहेकोतर्फ सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले आर्युवेद स्वास्थ्य उपचारबारे समुदायस्तरबाटै जनचेतना जगाउन आवश्यक भएको बताउँदैं स्वास्थ्य स्वयम् सेविकाहरुले यसको महत्वबारे जनतालाई जानकार गराउनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।
कार्यक्रममा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद गिरीले सरकारले आर्युवेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक उपचार विधिको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदैं भक्तपुर नपाले मौलिक आर्युवेद चिकित्सालाई प्राथमिकतामा राखी आरोग्य केन्द्र सञ्चालनबाट आफूहरुलाई हौसला प्रदान भएको बताउनुभयो । केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुहुँदै नेपालको मौलिक स्वास्थ्य विधिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।