कर्मचारीहरुले निःस्वार्थ सेवाभावले सेवा दिनुपर्छ — सभापति थापा

भक्तपुर, पुस १७
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कर्मचारीहरुले निःस्वार्थ सेवाभावले सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन भक्तपुरको आठौं जिल्ला अधिवेशन शनिवार उद्घाटन गर्दै सभापति थापाले कर्मचारीहरु जनताका सेवक भएकाले सोही अनुसार सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले जनताको करबाट संकलित राज्यकोषबाट तलब खाने कर्मचारीहरुले जनतालाई केन्द्रमा राखी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । जनताले कर्मचारीको सेवा प्रवाहलाई आधारमानी सरकारको र राज्य व्यवस्थाकै मूल्यांकन गर्ने भएकाले सरकार र राज्यको साख राख्नका लागि पनि कर्मचारीहरुले निःस्वार्थभावले सेवा प्रवाह गर्नुपर्नेमा सभापति थापाले जोड दिनुभयो ।
उहाँले लोकतन्त्रमा विश्वास राख्ने लोकतन्त्रवादीहरु निजामती कर्मचारीहरुको युनियनमा आवद्ध कर्मचारीहरुले मुलुकको लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकासका लागि थप जिम्मेवारीका साथ काम गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले कर्मचारीहरुले निजामती सेवालाई थप विश्वासिलो र आस्थावान बनाउने हेतुले काम गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रप्रति आस्थावान कर्मचारीहरुले राज्य र कार्यालयको विधि विधान अनुसार निर्धारित समयमा कार्यालयमा उपस्थित भएर, अनुशासित ढंगले जनतालाई मर्यादित, सरल र सहज तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरमा सुशासन कायम राख्न, कर्मचारीहरुलाई अनुशासनमा राख्न कार्यालय प्रमुख, सूचना अधिकारीहरुको नियमित बैठक राखी सेवा प्रवाहको अवस्था, विद्यमान समस्या र चुनौतीहरुका बारेमा छलफल हुँदैं आएको जानकारी दिँदें उहाँले हाजिरी छ्ड्के समेत शुरु गरिएको बताउनुभयो ।
नेपाल निजामति कर्मचारी युनियनका उपमहासचिव दुर्गाप्रसाद फुँयालले संघीय संरचनामा कर्मचारीको वृत्ति विकासका विषयमा सरकार गम्भिर बन्नुपर्ने बताउनुभयो । उहाँले संघीय निजामति कर्मचारी ऐनले कर्मचारीहरुको समस्या सम्बोधन गरी उनीहरुको वृत्ति विकासका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले निजामति कर्मचारी देशको स्थायी सरकार भएको र कर्मचारी प्रशासनको कार्यशैलीले नेपालको शासन व्यवस्थाको मूल्यांकन हुने भएकाले कर्मचारीहरुले सरल र सहज तरिकाले सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
युनियनका अध्यक्ष विजय धौभडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुरज पौडेल, पुर्वअध्यक्ष श्रीराम लम्साललगायतले कर्मचारीहरुले जनताको मन जित्ने किसिमले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । पौडेलले यसअघि युनियनको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
कार्यसमितिको उपाध्यक्षमा निरज चक्रधर, मदनकुमार सिंह, सचिवमा बद्रीप्रसाद नेपाल, सहसचिवमा सरस्वती थापा, कोषाध्यक्षमा कुमार घिमिरे सर्वसम्मत चयन भएका छन । त्यसैगरी सदस्यहरुमा पदमबहादुर रोक्का, आधार शर्मा, सिताराम प्याकुरेल, अशोक पन्त र रञ्जन कायष्थ चयन भएका छन ।
त्यस्तै विजयप्रसाद धौभडेल, श्रीराम लम्साल, सरिता उपाध्याय, बद्रीराम भट्टराई र यवनाथ अर्याल केन्द्रीय प्रतिनिधि चयन भएका छन ।