भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप भक्तपुरमा हुने

भक्तपुर, पुस १५
भक्तपुरको मध्यपुर थिमिमा भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप हुने भएको छ । नेपाल भारोत्तोलन संघले बिहिवार मध्यपुर थिमिमा पत्रकार सम्मेलन गरी यही पुस २७ गतेदेखी २९ गतेसम्म २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०७८ मध्यपुर थिमिमा आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगितामा जनियर तथा सिनियर पुरुष÷महिला, युथ पुरुष÷महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुनेछ । त्यस्तै युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुने संघका अध्यक्ष राम श्रेष्ठ बोसले जानकारी दिए ।
त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी मार्थिको तौल समूहका खेलहरु हुनेछ ।
प्रतियोगितामा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, महोत्तरी, सिराहा, धनुषा, बारा, पर्सा, चितवन, कास्की, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं जिल्ला टिम र विभागिय टिमहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना गरी २३ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा करिव २ सय जना खेलाडीको सहभागिता रहने जनाएको छ ।
प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० सहित कुल १८० पदकको लागि प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिव ५१ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । खेलाडीहरुको आतेजाते यातायात खर्च र प्रतियोगिता अवधीभर खानेबस्ने व्यवस्था आयोजकले गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अन्तराष्ट्रिय प्रतियोगितामा सबै भन्दा धेरै पदक जित्न सफल भारोत्तोलन खेललाई राज्यले सधैं उपेक्षा गर्दै आइरहेको बताए । उनले भने राष्ट्रको शिर उचो बनाउन सफल खेल भारोत्तोलनको विकासका लागि सरकारको ध्यान जान सकेको छैन । उनले भारोत्तोलनको विकासको लागि स्थानीय सरकारहरुले पनि चासो दिनुपर्ने बताए ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रको विकास एवम् खेलाडीहरुको वृत्ति विकासका लागि विभिन्न प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रमलाई सहयोग गर्दै आइरहेको जानकारी दिँदैं भारोत्तोलनको लागि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए । उनले भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता मध्यपुर थिमिमा हुनु मध्यपुरकै लागि गौरवको विषय भएको बताए ।