दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगितामा सिद्धिदासको विजयी शुरुवात

भक्तपुर, पुस ८
भक्तपुरमा बुधबारदेखि दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा सिद्धिदास मावि भक्तपुर फराकिलो अन्तरले विजयी भएको छ ।
भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीले संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा स्थानीय माहेश्वरी खेल मैदानमा शुरु प्रतियोगितामा सिद्धिदासले आयोजक स्प्रिङडेललाई ५–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
प्रतियोगिताको दोश्रो दिन बिहीबार पहिलो खेल ख्वपृङ्ग इङ्गलिस स्कुल लिवाली र मदरल्याण्ड स्कुल बाचामारीबीच हुनेछ । दोश्रो खेलमा विनायक स्कुल मध्यपुर थिमि र रोम्वस स्कुल कमलविनायकबीच प्रतिष्पर्धा हुनेछ ।


प्रतियोगितामा पहिलो र दोश्रो हुने विद्यालयलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले जानकारी दिए । भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिता गरेको उनले बताए । ‘आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम बन्ने सक्छ,’ उनले भने ।
स्प्रिङडेल इङ्गलिस बोर्डिङ्ग स्कुलका कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी भएको जानकारी दिए ।