नगरकोट सडक निर्माणमा ढिलाई भए ठेक्का रद्ध – मन्त्री यादव

भक्तपुर, पुस ७
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले कमलविनायक–नगरकोट सडक तोकिएको समयसिमाभित्र निर्माण सम्पन्न नभए ठेक्का रद्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सो सडकको निर्माणमा भएको ढिलाईका विषयमा ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाउन गएको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ को टोलीलाई मंगलवार मन्त्री यादवले आफुहरु उक्त सडकको म्याद थप गर्ने पक्षमा नरहेको जानकारी दिँदैं समयमा निर्माण सम्पन्न नभए ठेक्का रद्ध गर्ने बताउनुभएको हो ।
नगरकोटको बाटो अहिलेको ठेकेदारबाट निर्माण सम्पन्न नहुने पक्का भएको बताउँदै उहाँले अब कसरी यो ठेक्का तोड्ने प्रक्रियामा जाने हो त्यसको तयारी गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । मन्त्री यादवले नगरकोटको बाटो सम्पन्न गराउन आफूहरु दिन रात एक बनाएर लाग्दा पनि ठेकेदार भने कछुवाको गतिमा हिँडेको बताउनुभयो ।
देशको गलत नीति र नियमका कारण पनि नगरकोटको बाटोमा जस्तो ठेकेदारहरुले देशका विभिन्न सडक निर्माणको काम अलपत्र पारेको उहाँको भनाई थियो । ‘ठेक्का विलोमा लिने, एकै कम्पनीले दशौं ठाउँमा ठेक्का पार्ने, तर काम भने कम जनशक्ती र औजारका कारण कही पनि समयमा सम्पन्न नगर्ने प्रवृत्तिका कारण देशको विकास निर्माण सुस्त भएको हो,’ उहाँले भन्नुभयो । ठेक्का रद्ध गर्दा पनि अदालत जाने अन्तरिम आदेशका नाममा काम नगरी बस्ने प्रवृत्तिको विरुद्ध पनि आन्दोलन गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
ज्ञापनपत्र बुझाउने क्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले नगरकोट सडकको ठेक्का रद्ध गरेर प्रदेश सरकारलाई जिम्मा दिन आग्रह गर्नुभयो । उहाँले नगरकोट सडकको बाँकी काम पुरा गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘१६ किलोमिटर सडक बनाउन ८ वर्ष बिताउने निर्माण कम्पनीलाई अब विश्वास गर्न सकिन्न । ठेक्का रद्धको विकल्प छैन,’ उहाँले भन्नुभयो ।
उहाँले नगरकोट सडक निर्माण कम्पनीका मालिक शारदा अधिकारीले झुक्काएको समेत बताउनुभयो । ‘४५ दिनमा काम सम्पन्न गरी सक्ने आश्वासन दिएका अधिकारीले मलाई मात्र होइन जनतालाई पनि झुक्याएका छन,’ उहाँले भन्नुभयो, ‘यसको परिणाम राम्रो हुने छैन ।’
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठले नगरकोटको बाटोको सम्वन्धमा ठेक्का रद्ध गर्ने प्रक्रियाका लागि विभिन्न निकायलाई पत्राचार गर्न र ठेकेदार कम्पनीलाई जानकारी गराउन निर्देशन दिनुभयो । सचिव श्रेष्ठले विभागका प्रमुख, सम्बन्धीत आयोजनाका प्रमुखलगायतलाई सडक निर्माणको बाँकी कामको अध्ययन गरी ठेक्का रद्ध गर्न अपनाउनुपर्ने प्रक्रियामा जान निर्देशन दिनुभएको थियो । उहाँले पुनः ठेक्का गरेर भएपनि नगरकोट सडकको निर्माण पुरा गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
नगरकोटको बाटोको अवस्थाले भक्तपुरको सिंगो पर्यटन व्यवसाय धराशायी हुँदैं गएको जानकारी दिँदैं नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर १ का सभापति जिवन खत्रीले सडकको दुरावस्थाले स्थानीय बासिन्दाको स्वास्थ्यमा समेत प्रतिकुल असर पारेको बताउनुभयो । ‘दुई वर्षमा सम्पन्न गर्ने भनी लिएको ठेक्का हाल सम्म पनि सम्पन्न नहुँदा नगरकोट सडक भएर हिड्नेहरुको स्वास्थ्य अवस्था दिन प्रतिदिन विकराल बन्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘यसको जिम्मेवारी निर्माण कम्पनीले लिनपर्छ ।’
ज्ञापनपत्र बुझाउन नगरकोटका स्थानीय किसान, मजदुर, महिला, विद्यार्थी, पर्यटक व्यवसायीलगायत मन्त्रालय पुगेका थिए ।