कमलविनायक–नगरकोट सडक आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता

????????????????????????????????????

भक्तपुर, पुस ७
शैलुङ कन्ट्रक्सन कम्पनीले कमलविनायक–नगरकोट सडक आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । चाँगुनारायण नगरपालिकाले कमलविनायक–नगरकोट सडक निर्माणमा भएको ढिलाई र लापरवाहीको सम्बन्धमा बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शैलुङका प्रतिनिधिले चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको हो ।
अन्तरक्रिया कार्यक्रममा शैलुङका व्यवस्थापक माधव खड्काले अहिलेसम्म गम्भिर व्यवस्थापकिय कमजोरीका कारण सडक समयमा निर्माण सम्पन्न हुन नसकेको निष्कर्ष सुनाउँदैं आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको हो । उहाँले भूकम्प, कोरोना महामारी, स्थानीय समस्याका कारणले सडक निर्माण ढिलाई भएको स्पष्टिकरण दिँदैं केही प्राविधिक त्रुटीका कारण पनि निर्माणमा ढिलाई भएको जिकिर गर्नुभयो ।
त्यस्तै शैलुङको तर्फबाट आयोजना व्यवस्थापक तथा शैलुङको साझेदार भारतिय निर्माण कम्पनी एआईपिएलका प्रतिनिधि अनुप अधिकारीले आगामी १५ माघ भित्र बेस बिछ्याउने कार्य सम्पन्न गरी फागुन १५ गतेभित्र कालोपत्रे गर्ने र चैत्र १५ गतेभित्र सडक आयोजनालाई हस्तान्तरण गर्ने योजनाका साथ कार्य अघि बढाएको जानकारी दिनुभयो । उहाँले सडकको निर्माणको गति बढाउने र अब कुनै पनि कमीकमजोरी नहुने गरी कार्य अगाडि बढाईने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अबको निर्धारित समयमा निर्माण सम्पन्न नभए जुनसुकै सजाय भोग्न तयार भएको समेत बताउनुभयो ।
आयोजना प्रमुख गौतम श्रेष्ठले आयोजनाको तर्फबाट अब ठेक्काको म्याद नथप्ने प्रतिवद्धता जनाउनुभयो । ‘निर्माण कम्पनीले अब पनि निर्धारित समयमा काम सम्पन्न नगरे आयोजनाले म्याद थपको लागि सिफारिस गर्दैन । आयोजनाका कारण म्याद थप हुँदैन,’ उहाँले भन्नुभयो । कमलविनायक–नगरकोट सडक कसरी छिटो सम्पन्न गर्ने भन्ने बारे आयोजना चिन्तित भएको बताउँदैं त्यसका लागि आवश्यक प्राविधिक कर्मचारी थप्ने, दैनिक निरिक्षण गर्ने, निर्माण कम्पनीलाई दैनिक तोकता गर्ने, कार्य योजना निर्माण गरी सो अनुसार कामको गति बढाउन दवाब दिने र दैनिक छलफल गर्ने कार्य अगाडि बढाएको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मुलुक ठेकेदारको चंगुलमा फस्दै गएको बताउनुभयो । ‘देश बिस्तारै ठेकेदारले चलाउने परिस्थिती बन्दैछ,’ उहाँले भन्नुभयो । नगरकोट सडक समयमा निर्माण सम्पन्न नहुनुमा सरकार नै दोषी भएको बताउँदैं उहाँले सत्तारुढ दलहरुको गैर जिम्मेवारीपन पनि सडक समयमा सम्पन्न नहुनुको कारण भएको आरोप लगाउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अब पनि तोकिएको समय सिमाभित्र निर्माण सम्पन्न नभए ठेक्का रद्ध गरी सडक निर्माणको जिम्मा नगरपालिकालाई दिन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले जिम्मा पाए तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले निर्धारित समयमा निर्माण सम्पन्न गर्न ठोस कार्ययोजना आउनुपर्ने र सो योजना अनुसार जिम्मेवार निकायले आवश्यकता अनुसार सहयोग गर्न तयार हुनुपर्ने बताउनुभयो । उहाँले प्रशासनको तर्फ सदैव सहयोग रहने प्रतिवद्धता जनाउँदैं हालसम्म सो सडक निर्माण सम्पन्न नहुनुमा निर्माण कम्पनीको गम्भिर लापरवाही देखिएको बताउनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजा, नेमकिपा जिल्ला अध्यक्ष न्हुँछेभक्त फोँजुले निर्माण कम्पनीले जहिलेपनि जनताको आँखामा छारो हाल्ने गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा सहभागी स्थानीयहरुले निर्माण कम्पनीले विगतमा गरेका प्रतिवद्धता पुरा नगरेकाले अहिलेको प्रतिवद्धतालाई विश्वास गर्न नसकिने बताउँदैं चैत्र मसान्तभित्र निर्माण सम्पन्न नभए बैशाखदेखी काम गर्न नदिने र जुनसुकै कदम चाल्न बाध्य हुने, त्यसबाट उत्पन्न परिस्थितीको जिम्मेवार निर्माण कम्पनी र आयोजना हुने चेतावनी दिएका थिए ।
कमलविनायकदेखी नगरकोटसम्मको करिव १६ कलिोमिटर लामो उक्त सडक सुधार एवम् बिस्तारको लागि भारतीय निर्माण कम्पनी एआईपिएल र नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सनले संयुक्तरुपमा २०७३ असार ३ गते निर्माण सम्पन्न गर्ने गरी २०७१ जेठमा ३१ करोड ५२ लाख ९२ हजार रुपैंयाँमा ठेक्का सम्झौता गरेको थियो ।
भारतीय बैंक एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण शुरु भएको उक्त सडकको पटक पटक गरी ७ पटक म्याद थप भइसकेको छ । पहिलो पटक एक्जिम बैंकबाट ठेक्का सहमति प्राप्त गर्न प्रक्रियागत ढिलाई भएका म्याद थप भएको उक्त सडकको निर्माण कार्यमा २०७२ सालको भूकम्प, सडक किनारको भौतिक संरचना स्थानान्तरणमा ढिलाई, श्रख कटानमा ढिलाई, निर्वाचन, खरिद नियमावलीमा भएको संशोधन, कोरोना महामारीलगायतका बहानामा पटक पटक म्याद थप हुँदैं आएको छ । पछिल्लो पटक थप भएको म्याद अनुसार सो सडक निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद २०७८ चैत्र मसान्तसम्म रहेको छ ।